• १२ साउन २०८१, शनिबार

नामिबिया टी–२० विश्वकपमा छनोट

blog

काठमाडौँ, मङ्सिर १२ गते । नामिबिया सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी छनोट अन्तर्गत घरेलु मैदानमा मङ्गलबार भएको खेलमा तान्जानियालाई ५८ रनले हराउँदै नामिबियाले विश्वकपमा स्थान बनाएको हो । 

जितको लागि एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९९ रनमा समेटिएको थियो । तान्जानियाका लागि अमल राजिवनले ४५ रन बनाउनुभयो । तान्जानियालाई सस्तैमा समेट्न नामिबियाका कप्तान जेरार्ड इरास्मसले दुई तथा डेविड विजाले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । नामिबियाका लागि जेजे स्मिथले अविजित ४० रन बनाउनुभयो । नामिबियाले छनोटको एक खेल अगावै विश्वकपमा स्थान बनाएको हो ।

पाँच खेलबाट आठ अङ्क बनाएको नामिबियाले अब अन्तिम खेल नाइजेरियासँग खेल्नेछ । नामिबयिा तेस्रो पटक विश्वकपमा छनोट भएको हो । यसअघि उसले सन् २०२१ र २०२२ को विश्वकप खेलेको थियो । सात टोली सहभागी छनोट खेलमा अब अफ्रिकाबाट युगान्डा, केन्या र जिम्बावे मध्ये एक टोली विश्वकपमा छानिनेछ । 

टी–२० विश्वकपअमेरिका र वेस्टइन्डिजमा आयोजना हुनेछ । २० टोलीको सहभागिता रहने विश्वकपमा १९ टोलीको टुङ्गो लागिसकेको छ । जसमा आयोजक अमेरिका र वेस्टइन्डिजसँगै अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान र नामिबिया छन् । नेपालले गत महिला घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा दोस्रो पटक स्थान बनाएको थियो । नेपालले यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो ।