• १२ असार २०८१, बुधबार

बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

blog

विद्यालयको अवलोकन तथा अनुगमनका क्रममा उपस्थित सरोकारवाला । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १२ गते ।
 बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका  आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।

जिल्ला समन्वय समितिको नेतृत्वमा सोमबार बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिएका विद्यालयको संयुक्त अनुगमनका क्रममा कार्यक्रमको सकारात्मक प्रभाव देखिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादव, जिल्ला समन्वय समिति बाँकेका निमित्त जिल्ला समन्वय अधिकृत रेखा श्रेष्ठ, पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष सङ्गिन शर्मा, कोहलपुर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष नमबहादुर आले, रुम टु रिडका वरिष्ठ फिल्ड व्यवस्थापक खड्कबहादुर कुँवरसहितको टोलिले कोहलपुर नगरपालिका १४ स्थित हवल्दारपुरमा रहेको राम माध्यमिक विद्यालयको अवलोकन तथा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा १२ कक्षामा अध्ययनरत छात्रा दुर्गा थारुले जीवन उपयोगी शिक्षाले आफूहरूको आत्मबल बढेको बताउनुभयो । “पहिले म अगाडि उभिएर बोल्न पनि सक्थिन तर अहिले धेरै मानिसको अगाडि निर्धक्कसँग बोल्न सक्छु” उहाँले भन्नुभयो । थारु जस्तै सोही विद्यालयमा १२ कक्षामा अध्ययन गर्ने दीपिका गुप्ताको भनाइ पनि उस्तै छ । गुप्ताले पनि जीवन उपयोगी शिक्षाले आफूहरूको उत्साह, आँट र साहस अत्यन्तै बढेको बताउनुभयो ।

अनुगमनका क्रममा छात्राहरूले कार्यक्रम प्रभावकारी भएको भन्दै निरन्तरता दिन आग्रह गरेका थिए । नमुना कार्यक्रम बिचमै सकिन्छ कि भन्ने चिन्ता व्यक्त गर्दै विद्यालयमै अध्ययनरत छात्रा यमुना कार्कीले छात्रहरूकालागि समेत यस प्रकारका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो । विद्यालय तथा घरपरिवारमा समेत बालिकाहरू दुर्व्यवहारको सिकार हुँदै आएको उल्लेख गर्दै कार्कीले त्यसको रोकथामकालागि छात्र (युवा) हरूलाई समेत व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

छात्रा ईश्वरी विकले बालिका शिक्षा कार्यक्रम मार्फत उच्च शिक्षा अध्ययनकालागि उपयुक्त जानकारी पाउनुका साथै बचत गर्ने बानीको समेत विकास भएको बताउनुभयो । विद्यालय स्तरीय बाल क्लबका अध्यक्ष आयुश थारुले आगामी दिनमा छात्रहरूकालागि समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र यादवले बालिका शिक्षा कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो । उहाँले आर्थिक, सामाजिक र चेतनाको हिसाबले पिछडिएका समुदायका बालबालिकाहरूलाई केन्द्रमा राखेर यस प्रकारका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो । आफ्नो विद्यालयमा कोहलपुर नगरपालिकाका ६ वटा वडाका बालबालिका अध्ययन गर्न आउने र सबै पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यादवले कार्यक्रम निरन्तरताका लागि आग्रह गर्नुभयो ।

विद्यार्थीको भर्ना अभियानका साथै विद्यालय आउने क्रम बढाउनमा रुम टु रिड र बालिका शिक्षा कार्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर वडा नं. १४ का वडाध्यक्ष नमबहादुर आलेले रुम टु रिडले बालबालिकाहरूको व्यवहार परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । विद्यालय र अभिभावकलाई जोड्ने पुलका रूपमा यसले काम गर्दै आएको उहाँको भनाइ थियो ।

आफूले पाउँदै आएको सेवा सुविधा विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्दै आएको दाबी गर्दै आलेले आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यार्थी तथा अभिभावकहरूको समस्या पत्ता लगाई त्यसको समाधानका लागि भूमिका खेल्दै आएको बालिका शिक्षा कार्यक्रम हरेक विद्यालयमा सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

रुम टु रिडका फिल्ड व्यवस्थापक खड्कबहादुर कुँवरले सबैको चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा त्यसको लविङ्ग भइरहेको बताउनुभयो । कुँवरले विद्यालय, बालिका, अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामी दिनमा यस कार्यक्रमको विस्तारका लागि स्थानीय तहसँग समन्वय तथा सहकार्य गरी अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नो योजनामा राखी अगाडि बढेको खण्डमा रुम टु रिड प्राविधिक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले बालबालिकासँगै अभिभावकको समेत चेतनास्तर बढाउनुपर्नेमा जोड दिनुभयो । रुम टु रिडको कार्यक्रमलाई सकेसम्म सदुपयोग गर्नुपर्नेमा जोड दिँदै चौधरीले बालबालिकाहरूमा पनि पढ्ने इच्छाशक्ति हुनुपर्ने धारणा राख्नुभयो ।

रुम टु रिडद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमबाट बाँकेको कोहलपुर नगरपालिका तथा बैजनाथ, खजुरा र राप्तिसोनारी गाउँपालिकाभित्रका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत २२ सय छात्रा लाभान्वित छन् ।

जिल्लाका चार वटा पालिकामा विगत ८ वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राईले जानकारी दिनुभयो । कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्नुका साथै आत्मविश्वास बढाउने खालका गतिविधिहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । आफ्ना अधिकारका बारेमा छात्राहरूलाई सचेत बनाउँदै आदर्श व्यक्ति बन्ने बारे, भविष्यमा गर्ने पेसाको बारे, यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा, चिनेजानेकाबाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको राईले जानकारी दिनुभयो ।