• ८ जेठ २०८१, मङ्गलबार

पर्यटकको पर्खाइमा 'केभहिल'

blog

बेनीको शिरमा रहेको केभहिलबाट देखिएको हिमशृङ्खलाको मनोरम दृश्य । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ११ गते । बेनीको शिरमा 'केभहिल' छ  । केभहिलदेखि तल जगन्नाथ मन्दिर र एतिहासिक ढोल्ठान दरबार छ । नेपालमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठानमा रहेको मानिन्छ । केभहिलदेखि माथि डढेकोट छ । बेनीदेखि केभहिलसम्मलाई धार्मिक मार्गका रुपमा लिने गरिन्छ । यो मार्गमा धार्मिक स्थल पुलाश्रम र घतानकोट पर्दछन् ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा पर्ने केभहिल बेनी नगरपालिका ५ पुलाचौरमा पर्छ । यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, मानापाथी, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । कालिगण्डकी नदीको सुन्दर दृश्य पनि अवलोकन गर्न सकिन्छ । 

म्याग्दीका ३६ वटा ग्रामीण बस्तीहरुका साथै छिमेकी जिल्ला पर्वत र बागलुङका रमणीय भूभागहरुको अवलोकन गर्न सकिने सुन्दर ठाउँ हो केभहिल । पर्यटकको सुविधाका लागि यहाँ भ्यूटावरसमेत निर्माण गरिएको छ । बेनीदेखि कच्ची सडक पनि पु र्‍याइएको छ । 

प्राकृतिक मनोरम स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको केभहिलबाट हिमालको अवलोकन गर्न आउनुभएका बेनी नगरपालिका ९ तोरीपानीका सागर बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, "बेनीदेखि नजिक यस्तो सुन्दर पर्यटकीय स्थल छ । तर पर्यटनमैत्री पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा छ ।"

मनोरम हिमशृङ्खला र विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिने राम्रो पर्यटकीय सम्भावना भएको केभहिल प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासी नीलकण्ठ शर्माले बताउनुभयो । 

केभहिललाई धार्मिक र प्राकृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजनासहित पूर्वाधार निर्माण र प्रचारप्रसारमा स्थानीयहरु जुटेको शर्माले बताउनुभयो । पछिल्लो समय प्रसिद्ध जगन्नाथ मन्दिर र केभहिलबाट हिमशृङ्खलाको अवलोकन गर्न आन्तरिक पर्यटक पुग्न थालेका छन् । आइतबार नवनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले धार्मिक स्थल र प्राकृतिक पर्यटनलाई सँगसँगै जोडेर धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस क्षेत्रका तीर्थस्थल गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ र घतान कोटलाई जोडेर धार्मिक पर्यटनको सर्किट बनाउन सकिने बताउनुभयो । 

गाजनेको सुन्दरता, स्थानीयको रहनसहन, विभिन्न स्थानको अवलोकनका लागि जगन्नाथ मन्दिर प्रसिद्ध मानिन्छ । गाउँलेहरुले जगन्नाथ मन्दिरकै कारण गाजनेमा अवैध घरेलु मदिरा उत्पादन र कुखुरापालन गर्दैनन् । सयौं वर्षदेखिको नियम अझै मान्दै आएका छन् ।