• ७ जेठ २०८१, सोमबार

निर्माण व्यवसायीको तीन अर्ब भुक्तानी

blog

काठमाडौं, मङ्सिर १० गते। सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।

निर्माण व्यवसायीले रकम भुक्तानी नभएसम्म काम नगर्ने अडानसहित काम रोकेर आन्दोलनमा भित्रिएपछि सरकारले बाँकी रकम भुक्तानी गर्ने जनाएको थियो। सोही बमोजिम सरकारले रकमान्तर गरेर भुक्तानी प्रक्रियालाई निरन्तरता दिँदै आएको जनाएको छ। 

भुक्तानी नपाएको व्यवसायीको गुनासो 

बाँकी भुक्तानी रकम सरकारले दसैँअघि नै उपलब्ध गराउने जनाएपछि अझै पुरै रकम उपलब्ध नगराएको निर्माण व्यवसायीले गुनासो गरेका छन्। 

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार अझै चार अर्ब रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको छ। निर्माण व्यवसायीले आयोजनाको काम ठप्प पारेर आन्दोलन गर्न थालेपछि सरकारले सम्झौता गरेर भुक्तानी दिने सहमति गरेको थियो। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह सरकारले गत आर्थिक वर्षको चार अर्ब रकम अझै भुक्तानी गर्न बाँकी रहेको बताउनुहुन्छ। 

करिब तीन अर्ब रकम भुक्तानी भए पनि बिल बनेकोमध्ये चार अर्ब रकम अझै भुक्तानी हुन बाँकी रहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको बाँकी रकम सरकारले पुरै भुक्तानी गरेको छैन। करिब तीन अर्ब भुक्तानी भएको छ। बिल बनेको चार अर्ब अझै बाँकी छ।”

विभिन्न कारणले बिल बन्न बाँकी रहेको ४० अर्ब रकमको भुक्तानी पनि अझै बाँकी रहेको उहाँको भनाइ छ। सरकारले गत आर्थिक वर्षकै काम गरेको बाँकी रकम भुक्तानी गर्न नसकेकाले चालु आर्थिक वर्षमा कसरी काम गर्ने भन्ने अन्योल सिर्जना भएको उहाँको भनाइ छ। 

“सरकारले गत आर्थिक वर्षको बाँकी रकम नै भुक्तानी गर्न सकेको छैन। चालु आर्थिक वर्षमा कसरी काम लगाउने भन्ने समस्या छ”, अध्यक्ष सिंहले भन्नुभयो, “विभिन्न आयोजनामा सप्लायर गर्ने सप्लायर्सको रकम बाँकी नै रहेकाले सप्लायर्सले सामान सप्लाई गर्न सक्दैनन्, कर्मचारीलाई मासिक तलब दिन सकिँदैन। कसरी काम गर्ने ?” 

सरकारले सम्पन्न गर्न नसक्ने आयोजनालाई कटौती गर्नुपर्ने उहाँ बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, “सरकारले चालु आर्थिक वर्षमा काम गर्न नसक्ने आयोजनालाई कटौती गर्दै लानुपर्छ। जहाँ–जहाँ बजेट विनियोजन गर्न सकिँदैन। ती आयोजनालाई कटौती गर्दै लानुपर्छ।”  कुन-कुन आयोजना अगाडि बढाउन सकिन्छ अनुमान गरेर मात्र आयोजना सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ। 

चालु आर्थिक वर्षको भुक्तानी दायित्व नै बढी भयो

गत आर्थिक वर्षको भुक्तानी रकम बाँकी हुँदा यस वर्षको आयोजना नै राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था नभएको सडक विभागले जनाएको छ। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार गत आर्थिक वर्षको भुक्तानी केही भए पनि चालु आर्थिक वर्षको भुक्तानीको दायित्व नै बढी भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको बाँकी रहेको केही रकम भुक्तानी भएको छ, केही अझै बाँकी छ। चालु आर्थिक वर्षको तीन महिनामा नै रकम भुक्तानीको लागि समस्या छ।” विभाग अन्तर्गतका आयोजनामध्ये एक करोड रकम भुक्तानी गरिएको उहाँको भनाइ छ। 

अर्थ मन्त्रालयबाट रकमान्तर गरेर बाँकी भुक्तानी दिने  भनिए पनि केही जटिलता आएका कारण पुरै भुक्तानी हुन नसकेको उहाँको भनाइ छ। उहाँका अनुसार गत आर्थिक वर्षको बाँकी रकम भुक्तानी गर्दा चालु आर्थिक वर्षको लागि आयोजनामा विनियोजित बजेटसमेत सकिएको छ।

उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको बाँकी रकम अहिले भुक्तानी गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षका लागि विनियोजित रकमसमेत सकिएको छ। कसरी काम लगाउने भन्ने समस्या भएको छ।” 

उहाँका अनुसार विनियोजन बजेटअन्तर्गत नै रहेर गत आर्थिक वर्षको बाँकी भुक्तानी रकम वितरण गरिएकाले अहिले समस्या भएको छ। कतिपय आयोजनामा बजेट नै नभएकाले कसरी अघि बढाउने भन्ने समस्या भएको छ। 

के छ सरकारको भनाइ ?

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी प्रक्रियागत रूपमा भइरहेको सरकारी अधिकारीको भनाइ छ। अर्थ मन्त्रालयका सूचना अधिकारी भूपालराज शाक्यका अनुसार सरकारले निर्माण व्यवसायीलाई तिर्नुपर्ने बाँकी रकम भुक्तानी गर्दै गएको छ। उहाँले भन्नुभयो, “अर्थमन्त्रलयले रकमान्तर गर्न मन्त्रालयबाट आएका प्रस्ताव सबै सदर गरेको छ। सम्बन्धी मन्त्रालयले भुक्तानी पनि गर्दै गएका छन्।” प्रक्रिया पूरा गरेर सबै रकम भुक्तानी गर्ने काम भइरहेको उहाँको भनाइ छ। 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।