• ११ मंसिर २०८१, मङ्गलबार

परामर्शबिना एन्टिबायोटिक प्रयोग घातक

blog

आजकल चिकित्सकको सल्लाहबिनै शारीरिक परीक्षण नगराई एन्टिबायोटिक माग गर्ने, सल्लाह दिने र सुझावलाई कार्यान्वयन गरिहाल्ने लहड खुबै चलेको छ । स्वास्थ्यकर्मीसँग अनावश्यक रूपमा एन्टिबायोटिकको माग गर्ने । हामी उस्तै प्रकारको रोग लाग्दा साथीभाइ, आफन्तलाई चिकित्सकले सिफारिस गरेको औषधी कुनै जाँच वा विशेषज्ञको परामर्शबिना खान्छौँ । उसलाई त ठिक भयो, मलाई कसो नहोला भन्ने सोच्छौँ तर मानिस अनुसार उसको शरीर र उसको रोगसँग लड्ने क्षमता फरक हुन्छ भन्ने कुरा बिर्सिन्छौँ ।

ब्याक्टेरिया, भाइरस र ढुसीले गर्दा लाग्न सक्ने रोगविरुद्ध एन्टिबायोटिक, एन्टिभाइरल तथा एन्टिफङ्गल औषधी प्रयोग गरिन्छ । समग्रमा यसलाई एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधीको अनुचित प्रयोगले गर्दा बिरामीको रोग अझ बल्झिँदै गएर ज्यानसमेत गुमाउन पर्न सक्ने अवस्था सिर्जित हुन्छ । सजिलै मेडिकलमा पाइने, डाक्टरको महँगो शुल्क नतिरी रोग निको पार्न सकिने भएको कारणले एन्टिबायोटिकको प्रयोग बढ्दो छ । यो विश्वव्यापी समस्याको विषय बनेको छ ।

अनावश्यक र अपुरो मात्राको रूपमा र लापरबाहीपूर्वक गरिएको प्रयोगले गर्दा सङ्क्रामक जीवाणुले औषधी नै प्रतिरोध गर्छन् जसलाई ‘एन्टिबायोटिक रेजिस्टेन्स’ अर्थात् जीवाणुको प्रतिरोध क्षमतामा वृद्धि भनिन्छ । भएका औषधीले काम नगर्नु र थप नयाँ औषधीको विकास भइनसकेको अवस्थामा एन्टिबायोटिक रेजिस्टेन्सले ठुलो क्षति निम्त्याउँछ । आमरूपमा, रुघाखोकीलाई औषधी खाए सात दिन नत्र घरेलु उपचारबाट पनि एक हप्तामा निको हुन्छ भन्ने विश्वास छ तर छिटो सञ्चो हुने आशयले जुनसुकै अवस्थामा पनि एन्टिबायोटिकको प्रयोग गरिन्छ । जथाभावी रूपमा दिन प्रतिदिन एन्टिबायोटिक्सको प्रयोग गरिरहने हो भने सामान्य किसिमका रोगमा एन्टिबायोटिक्सले काम गर्दैन । उपचार गर्न गाह्रो हुन्छ र भयावह अवस्था सिर्जना हुने सम्भावना बढ्छ । 

गर्भवती महिलाले गर्ने खानपान, अपनाउने दिनचर्याले उनको गर्भमा रहेको भ्रुणको स्वास्थ्य निर्धारण गर्दछ । त्यसैले, गर्भवती महिलाले विभिन्न कुरामा ध्यान पु¥याउन जरुरी छ । यस अवस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्शबिना एन्टिबायोटिक लिने हो भने यसले गर्भवती महिलालाई मात्र नभई भावी सन्ततिलाई पनि नोक्सान गर्ने कुरामा दुईमत छैन । यस प्रकारको हेल्चेक्याइँले गर्दा गर्भपतनदेखि ज्यानकै जोखिम हुन सक्छ । एन्टिबायोटिक रेजिस्टेन्स जनस्वास्थ्यको मात्र समस्या होइन । बढ्दो तर गलत प्रयोग गर्दा पशुपन्छी, बिउबिजन र तरकारीमा एन्टिबायोटिकले असर गर्छ । मासु तथा पशुजन्य पदार्थको छिटो हुर्काइका लागि पनि एन्टिबायोटिकको प्रयोग गरिन्छ । व्यापक प्रयोग हुनु तर अनुगमन नहुनुको कारणले एन्टिबायोटिक रेजिस्टेन्सले विकराल रूप लिँदै गएको छ । खेतीयोग्य जमिन कम हुनु, कम व्यक्तिको मेहनतले धेरै व्यक्तिको पेट पाल्नु पर्ने, उपभोक्ताले सर्लक्क परेका, राम्रा देखिने तरकारी तथा खाद्यान्न माग गर्ने भएकाले पनि खेतीमा विषादीको अनुचित प्रयोग भइरहेको छ । यसरी प्रचुर मात्रामा एन्टिबायोटिक मिसाएको खाद्यान्नले गर्दा पनि हाम्रो शरीरमा एन्टिबायोटिकको मात्रा बढेको छ । 

त्यसो भए के गर्ने त ? सर्वप्रथम त रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै दिन भएन । त्यसैले व्यक्तिगत तथा आफ्नो वरिपरिको सरसफाइमा ध्यान दिने, पौष्टिक आहार खाने र नियमित व्यायाम गर्नु पर्छ । त्यसका साथै, बिरामी भइहाल्दा स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श अनुरूप औषधि सेवन गर्नु पर्छ । शरीरमा कुन ब्याक्टेरियाले असर गरेको हो, सोही अनुरूप एन्टिबायोटिकको प्रयोग गर्नु पर्छ । एन्टिबायोटिकले पूर्ण रूपमा रोग निदान गर्दैन भन्ने कुरा पनि मनन गर्नु पर्छ । यसको सही प्रयोगको अभावमा स्वास्थ्यलाई असर पनि गर्छ । यसको अन्धाधुन्ध प्रयोग भइरहने हो भने, अहिले सामान्य लागिरहेका झाडापखाला, रुघाखोकीले भविष्यमा डरलाग्दो रूप लिन नसक्ला भन्न सकिँदैन । 

नेपालमा विसं २०७१ मा स्वास्थ्य संस्थाहरूले एन्टिबायोटिक सिफारिस गर्न पाउने मापदण्डसहितको निर्देशिका तयार भए पनि चिकित्सकको परामर्शबिना बिक्री वितरण हुँदा समस्या सिर्जना उत्पन्न भएको छ । निर्देशिकामा स्वास्थ्य संस्थालाई पनि वर्गीकरण गरी कस्तो औषधी सिफारिस गर्न पाइने हो भन्ने उल्लेखसमेत गरेको छ । स्वास्थ्य चौकीले आधारभूत औषधी मात्र, प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालले केही एन्टिबायोटिक र विशेषज्ञ सेवा दिने स्वास्थ्य संस्थाले आधारभूत औषधीमा जोड दिनुपर्ने भनेर लेखिएको छ । प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, रोकथामका साथै नियन्त्रण गर्नका लागि नेपाल सरकारले ‘एक स्वास्थ्य’ अवधारणा ल्याएको छ । ‘एक स्वास्थ्य रणनीति २०७६’ को अनुसार, जनस्वास्थ्य, पशु स्वास्थ्य, वनस्पति र वातावरणीय स्वास्थ्यमा आइपर्ने वा सम्भाव्य जोखिम तथा चुनौतीको प्रभावकारी व्यवस्थापन गरी मानिस, पशुपन्छी तथा वातावरणको अन्तर सम्बन्ध अझ लाभदायी बनाउनु पर्छ । रेजिस्टेन्सबाट हुन सक्ने बिरामी र मृत्युदरका साथै यसको आर्थिक असरलाई पनि नियन्त्रण गर्न राष्ट्रिय कार्ययोजना २०२१, २०२६ तयार भई कार्यान्वयन चरणमा छ । कार्यान्वयन नभई नसकेकोले अनुचित एन्टिबायोटिक्सको सिफारिस तथा बिक्री वितरणमा रोक लगाउन सकिरहेको छैन । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२१ मा गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अनुसन्धानले नेपालमा मनपरी रूपमा एन्टिबायोटिकको प्रयोग बढ्दो देखाएको छ । अध्ययन अनुसार, २८ प्रतिशले डाक्टर वा कुनै पनि स्वास्थ्यकर्मीको लिखित परामर्शबिना नै एन्टिबायोटिक किनेर खाने गर्छन् भने २२ प्रतिशतले त सुरु गरेको एन्टिबायोटिकको कोर्स पूरा नगरी छोड्दा रहेछन् । सो अध्ययनले स्वास्थ्यकर्मीको पनि ध्यान दिनुपर्ने देखाएको छ । परामर्श गरेर खान भनिएका औषधीमध्ये ३७.८ प्रतिशत एन्टिबायोटिक रहेका छन् र ८५ प्रतिशले त एन्टिबायोटिकको जेनेरिक (मूल) नाम नलेखेको पाइयो । त्यसै गरी ६० प्रतिशत भेटेरिनेरी फर्मासिस्टसँग उनीहरूले पशुहरूलाई दिएको औषधीको तथ्याङ्क नै नरखेको पाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवाणु प्रतिरोधी सङ्क्रमणको कारणले बर्सेनि करिब सात लाख मानिसले ज्यान गुमाउन परिरहेको छ । अवस्था सुध्रिएन भने, सन् २०५० मा सङ्ख्या बढेर एक करोड पुग्नुका साथै ठुलो धनजनको क्षति हुने आकलन गरिएको छ । 

हाल प्रत्येक ४५ सेकेन्डमा एक जनाको मृत्यु भइरहेको छ भने सन् २०५० मा ३ सेकेन्डमा एक जनाको मृत्यु हुन सक्ने स्थितिको बारेमा सङ्गठनले बताएको छ । त्यसैले सङ्गठनले सन् २०१५ मा प्रतिजैविक प्रतिरोधी न्यूनीकरणसम्बन्धी कार्ययोजना अपनाएको छ र सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घले प्रतिबद्धता जनाएको छ । सन् २०१७ मै विश्व बैङ्कले अवस्थामा सही परिवर्तन नभए, २०५० सम्ममा करिब २ करोड ८० लाख जनसङ्ख्या गरिबीको रेखामुनि जान सक्ने आकलन गरेको थियो । सन् २०२१ मा विश्व स्वास्थ्य सङ्गठनले प्रतिबन्ध गरेको १०३ प्रकारका एन्टिबायोटिकमध्ये औषधी व्यवस्था विभागले सन् २०२३ मा १४ एन्टिबायोटिकमा कार्यान्वयन लागु गरेको छ । नेपालमा सो तालिकामध्येका १४ प्रकारका औषधीको उत्पादन हुँदो रहेछ । सङ्गठनले भने पनि, दुई वर्षसम्म पनि ती औषधी चलाइरहनु गम्भीर हो । नेपालमा औषधीको बिक्री वितरणलाई व्यवस्थित गर्न बनेको औषधी ऐन, २०३५ को दफा १७ अन्तर्गत एन्टिबायोटिक समूह ‘ख’ मा रहेको छ, जुन चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्न पाइन्छ । चिकित्सकको प्रेस्व्रिmप्सनबमोजिम वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैँले बिक्री वितरण गर्नु पर्छ । 

स्वास्थ्यकर्मीको परामर्शबिना कुनै पनि एन्टिबायोटिक औषधीको सेवन गर्नु हुँदैन । त्यसको प्रयोगले रोग निको हुनुको सट्टा झन् बल्झिने खतरा हुन्छ । जीवाणुको प्रतिरोध क्षमता वृद्धि हुनुमा स्वाथ्यकर्मीको मात्र नभई हामी उपभोक्ता पनि उत्तिकै जिम्मेवार छौँ । हामीले रोगलाई जित्नु पर्छ, त्यसैले स्वास्थ्यकर्मीको परामर्श अनुरूप नै उपयुक्त समयमा औषधीको सही मात्रा सेवन गर्नु पर्छ ।   

Author

अंशु भुसाल