• ११ मंसिर २०८१, मङ्गलबार

भूपरिवेष्टित देशको विकास

blog

विश्वको अर्थतन्त्र मुख्य रूपमा दुई कुराबाट सञ्चालन हुन्छ । व्यावसायिक कारोबार गर्नका लागि कम्पनी र विकासका लागि परियोजना अर्थात् पूर्वाधार । विकसित देशका परियोजना ज्यादै नै बहुउपयोगी हुन्छन् । चीन अमेरिका, रुस जस्ता देशका बाँध, जलविद्युत्, प्रसारण लाइन, सडक परियोजना ज्यादै नै आश्चर्यजनक र विशाल हुन्छन् । कारण उनीहरूको इन्जिनियरिङ र आर्टिटेक्ट आफ्नै मौलिक हुन्छ, उन्नत खालका हुन्छ । लगानीका लागि पर्याप्त पुँजी उपलब्ध हुन्छ । यहाँ गरिब एवं भूपरिवेष्टित देशको रूपमा रहेको अफगानिस्तानको एक परियोजनाको चर्चा गर्न खोजिएको छ । जसले आफ्नै इन्जिनियरिङको भरमा ज्यादै ठुलो परियोजना सञ्चालन गरिरहेको छ । जुन पूरा भएमा त्यो देशको विकासमा ज्यादै भरपर्दो मेरुदण्ड बन्ने छ । 

दक्षिण एसियाको सार्क समूहभित्र दुई वटा देश पूर्ण रूपमा भूपरिवेष्टित छन् नेपाल र अफगानस्तान । क्षेत्रफलको हिसाबले हेर्ने हो भने अफगानस्तान नेपालभन्दा लगभग चार गुणाभन्दा बढी ठुलो छ र जनसङ्ख्या लगभग चार करोड रहेको छ । नेपालको सिमानाले अफगास्तानले छोएको छैन तर नेपाल जस्तै भूपरिवेष्टित देश हो । यसको अधिकांश पूर्वी र दक्षिणी भूभाग पाकिस्तानसँग जोडिएको छ । पश्चिममा इरान, उत्तर पश्चिममा तुर्कमेनिस्तान, उत्तर पूर्वमा ताजकिस्तान र चीन र उत्तरमा ताजिकिस्तान जस्ता देश जोडिएको हुनाले यसका सीमा छिमेकीहरू नेपालका भन्दा धेरै छन् । 

यो देशले भूपरिवेष्टितताको नेपालीको जस्तै पीडा भोगेको छ । वैदेशिक व्यापारका लागि समुद्री यातायात ज्यादै महìवपूर्ण हुन्छ किनकि यो सस्तो हुन्छ । प्लवनको सिद्धान्त अनुसार पानीजहाजले आफ्नो वजन बराबरको पानी विस्थापित गर्ने हुँदा समुद्रमा जहाज उत्रिनका लागि कुनै पैसा लाग्दैन थोरै इन्धनले जहाज समुद्रमा तैरने भएकाले यो सस्तो पर्छ । विडम्बना भूपरिवेष्टित देशले पनि समुद्रसम्म पुग्न लागि केही छुट पाउने कुरा भियना महासन्धिमा उल्लेख गरिएको छ । तापनि समुद्रसम्मको पहुँच नभएपछि निर्यात व्यापार पनि कम हुन्छ र उद्यमशील मनस्थिति पनि बन्दैन । यो समस्यामा नेपाल र अफगानस्तानलगायत विश्व अन्य लगभग ३२ देश यही समस्याबाट पीडित छन् ।

 समानुभूतिक तरिकाले हेर्ने हो भने चार करोड अफगानस्तानी जनता र लगभग तीन करोड नेपाली जनताको उद्यमीय समस्या लगभग एउटै छ । त्यो के भने हामी दुवै देशबासीलाई व्यापार गर्न कठिन छ । हामीसँग सहज विश्वसँग पहुँच हुन पाउँदैन, यही कारणले गर्दा भूपरिवेष्टित देशका जनतामा उद्यमशीलतातर्फ ध्यान केन्द्रित हुँदैन । यद्यपि केवल समुद्रको मार्गले मात्र उद्योग उद्यमशीलता सफल हुन्छ भन्ने पक्कापक्की गर्न सकिँदैन यसका लागि प्रविधिको निरन्तर विकास र सुधार हुनु पर्छ, त्यस गरी सिर्जनशीलताको पनि ठुलो भूमिका रहन्छ । कच्चा पदार्थ उत्पादन, आपूर्ति व्यवस्था, बजारको उपलब्धता र पहँुच जस्ता आन्तरिक तथा बाह्य वातावरणीय पक्षहरूले पनि व्यवसायलाई प्रभावित गरेको हुन्छ । तापनि समुद्रको पहुँच सहज भएका देशहरूले ज्यादै छिटो नाटकीय रूपले देशको विकास गरेको उदाहरण भियतनाम, बङ्गलादेश आदिबाट सहजै देख्न पाइन्छ । 

भूपरिवेष्टित देशले विकास गरे पनि त्यसको गति सुस्त हुन्छ र चमत्कारिक विकास गर्ने आधार प्राप्त हुँदैन । भूपरिवेष्टित देशले विकास गर्नका लागि आफ्नो रणनीति परिवर्तन गर्नु पर्छ, सकेसम्म सेवामूलक उद्योग, प्रविधिका उद्योग, सफ्टवेयरको निर्माण जस्ता कुरामा ध्यान दिनु पर्छ । योबाहेक केही गेमचेञ्जर परियोजनाका बारेमा सोच्न जरुरी हुन्छ । हाम्रो क्षेत्रीय छिमेकी राष्ट्र अफगानस्तानले यस्तै एक नहर परियोजना बनाउँदै छ । यो परियोजनाका लागि वैदेशिक ऋण लिइएको छैन । सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदनलगायत डिजाइनमा पनि पूर्ण रूपमा स्वदेशी क्षमतालाई नै प्रयोगमा ल्याइएको छ । परियोजना कार्यको गति पनि तीव्र छ । त्यो ठुलो आयोजनाको नाम क्वास टेपा नहर हो । 

१५ अगस्त २०२१ मा अमेरिकी सेनालाई आफ्नो देशबाट भगाइ तत्कालीन हमिद कर्जाइको सरकारलाई अपदस्त गरेपछि त्यहाँ धर्मतन्त्रको शासन सुरु भयो । जसलाई तालिवान भनिन्छ । अहिले त्यहाँको तालिवान सरकारले अमु दरिया नदीमा विश्वकै सबैभन्दा लामो र ठुलो नहर बनाउँदै छ । २८५ किलोमिटर लम्बाइ र १०० मिटर चौडा यो नहर अविकसित भनिएको देश अफगानस्तानको ज्यादै ठुलो विकासको प्रेरणादायक नमुना हो । राष्ट्रिय साधन स्रोतको सहयोगबाट बन्दै गरेको यो नहर विश्वकै सबैभन्दा लामो नहरमध्ये एक मानिएको छ । 

अहिले यो नहरको १०८ किलोमिटर प्रथम खण्ड पूरा भएर दोस्रो चरणको काम सुरु गरिएको छ । २०२२ मा काम सुरु गरेर यति छोटो समयमा १०८ किमी नहर बनाउनका लागि त्यहाँ त्यहाँ हजाराैँ कामदार काममा व्यस्त रहेका तस्बिर अमेरिकाबाट प्रकाशित वासिङ्गटन पोष्टमा छापिएका छन् । पत्रिकामा लेखिए अनुसार अफगानिस्तानको लाखाैँ हेक्टर जमिन बाझो छ । यसलाई सिञ्चित गर्नका लागि अमुदरिया नदीको पानी नहरबाट देशका अनेक हिस्सामा फिँजाएर पाँच लाख ५० हजार हेक्टर जमिनलाई उर्वरता परिणत गर्ने विशिष्ट उद्देश्य राखिएको यो परियोजनाले केही समयपछि देशलाई गहुँ निर्यात गर्ने अवस्थामा पु¥याउने लक्ष्यका साथ काम गरिएको छ । 

आधारभूत प्राकृतिक स्रोतमध्ये पानी यस्तो चिज हो जुन घाम र हावा जस्तो सहजै मानवलाई प्राप्त हुँदैन । हजारौँ मानिस आज पनि शुद्ध खानेपानी र सिँचाइ पानीबाट वञ्चित छन् । अफगानिस्तानमा भूमिगत पानी अभाव र वर्षामा जम्मा गरिएको पानी अपुग भएर प्रत्येक अफगानीका रातहरू पानी चिन्तामा बित्ने गरेका छन् । हिन्दुकुश पर्वतशृङ्खलाको काखमा रहेको देश भएर पनि यो देशमा पानीको उचित पहुँच छैन । यही समस्या समाधान गर्न त्यहाँको सरकारले अर्बौं डलर लागत लाग्ने यो आयोजना सुरु गरेको छ । 

नहरको गुणस्तर कस्तो बन्ने हो ? पानीको बहावलाई थेग्न सक्ने इन्जिनियरिङ छ वा छैन ? ती कुराहरू भविष्यमा नहर पूरा भएपछि थाहा लाग्ने छ । नहर बलियो बनाउन सकिएन भने पानी जमिनले सोसेर तोकिएको ठाउँमा जल प्रवाह हुन कठिन हुन्छ । अफगानस्तानको जल प्रबन्धन मन्त्रालयका अनुसार प्रत्येक साना साना समस्यालाई गहन तरिकाले विश्लेषण गरिएको कुरा बताइएको छ । समस्या अनेक भए पनि अफगानस्तानले आफ्नो आन्तरिक स्रोतबाट देशको भविष्य नै बदल्न सक्ने आयोजना बनाउन सकेमा नेपाल जस्ता अन्य भूपरिवेष्टित देशका लागि पनि यो प्रेरणाको स्रोत बन्नेमा द्विविधा छैन ।

नहरका सम्बन्धमा खर्चको विषय, समस्याका अनेक बुँदाहरू विद्यमान छन । अमुदरिया नदीसँग सम्बन्धित सिमानाका अन्य देशले यसको विरोध गरेका छन् वा चिन्ता जनाएका छन् । अफगानिस्तानले पूर्ण जोडतोडले आफ्नो परियोजनालाई अगाडि बढाएको छ । ओलम्कीको पौडी पोखरीभन्दा तीन गुणा चौडा नहरको पानीलाई व्यवस्थित गरी देशको मुहार फेरिनु अगाडि अनेकौँ चुनौती त पक्कै होलान् । 

 भूपरिवेष्टित देशले पनि विश्वमा केही गर्न सक्छन् भन्ने आत्मविश्वास जगाउन पनि यो परियोजना सफल होस् । हुन त अफगानिस्तानमा एउटा रेल परियोजना पनि सुरुवात गरिएको छ । जुन चीन र इरानलाई छुन्छ । जसले चीनबाट युरोपसम्मको व्यापारलाई सहज बनाउने विश्वास गरिएको छ । भूपरिवेष्टित नै भए पनि नेपाल जस्तो एक देशमा मात्र निर्भर रहनु नपर्ने भएकोले अफगास्तानको जस्तै ठुला परियोजनाहरू नेपालले पनि सुरुवात गर्न सक्नु पर्छ । 

  

Author

रामप्रसाद गौतम