• १५ मंसिर २०८१, शनिबार

स्याङ्जाको आलु स्थानीय समुहलेनै खरिद गर्ने, चिप्स, फ्रेन्च फ्राई बनाउने

blog

तस्बिर सौजन्य: कृषि ज्ञान केन्द्र

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर १० गते । स्याङ्जामा उत्पादन हुने आलु अब औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएको छ । सात स्थानीय तहका २६ समूहका कृषकले कम्पनीसँग किन्ने ग्यारेन्टी गरेर लगाउने पक्रिया अगाडी बढाएसँगै यहाँको आलु औद्योगिक प्रयोजनमा प्रयोग हुने पक्का भएको हो ।  

यहाँ कृषि ज्ञान केन्द्रको ‘समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत जिल्ला दर ७० रुपियाँको ७५ अनुदानमा एक हजार ४८२ रोपनीमा आलु रोप्ने काम थालिएको हो ।   यहाँ उत्पादन हुने आलुबाट फस्ट च्यावई फुड्स प्रालि भैरहवाले चिप्स, फ्रेन्च फ्राई र टिकिया बनाउने छ । 

यहाँका ११ पालिका मध्ये पाँच नगपालिका र दुई गाउँपालिकाले कृषि ज्ञान केन्द्रको अनुदान सहयोगमा आलु लगाएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले बताउनुभयो ।  

यहाँ नगरपालिका मध्ये चापाकोटमा ५५ हजार आठ सय, गल्याङमा ४५ हजार आठ सय, वालिङमा १६ हजार, भीरकोटमा १३ हजार, पुतलीबजारमा नौ हजार किलो आलु लगाउने सम्झौता गरिएको हो । यस्तै गाउँपालिका मध्ये बिरुवाले छ हजार र फेदिखोलामा तीन हजार केजी आलु लगाउने समूहले सम्झौता गरेको हमालले बताउनुभयो ।

यहाँका अर्जुन चौपारी, आँधीखोला, हरिनास र कालीगण्डकी गाउँपालिकाले ज्ञान केन्द्रले निर्धारित समयमा माग नगरेका बताउँदै बर्खे आलु लगाउने माग भएमा अनुदान दिने हमालले बताउनुभयो । 

 कम्तिमा ३० रोपनी प्लट जग्गा भएको समूहलाई ज्ञान केन्द्रले अनुदानमा उपलब्ध  गराएको हो । एक रोपनी बराबर एक सय केजी बिउँ लगाउन मिल्ने बताउँदै हमालले त्यसैको आधारमा माग अनुसार सम्झौता भएको बताउनुभयो । 

यहाँ फेदिखोलाले ३० रोपनीमा आलु लगाउदाँ चापाकोटले ५५४ रोपनीमा आलु लगाउने सम्झौता गरेको हो । बिउँमा ७५ प्रतिशत अनुदान दिए पनि सिचाई र सङ्कलन केन्द्रको ८५, तालिम र विषादीमा सत प्रतिशत अनुदान दिइने केन्द्रले जनाएको छ । 

यहाँ गल्याङ् नगरपालिका ११ जिमुवाको ७० प्रतिशत जनकदेव र ३० प्रतिशत भैरहवाको खुमल जातको आलु लगाइने छ । समूहले लगाएको आलु उत्पादन पश्चात् त्यो बेलाको अवस्था हेरेर मूल्य निर्धारण हुने र नबिके कम्पनीले आँखाले देख्ने सम्मको दाना किन्ने गरी सहमति गरिएको हो । 

अहिले सम्म कृषकले ६० प्रतिशत लगाएको र माग भए सम्झौता भन्दा बढी समेत बिउँ उत्पादन गर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको बिउँ कृषक आफै व्यवस्था गर्ने र लगाएर सकेपछि ज्ञान केन्द्रबाट रकम भुक्तानी समूहले पाउने छ ।