• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्र क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री चित्रकार

blog

थाहा कला केन्द्रको आयोजनामा मकवानपुरको थाहा नगरमा थाहा फिल्म फेस्टिवल–२०२३ मा प्रदर्शनीको उद्घाटनपछि बोल्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

पालुङ (मकवानपुर), मङ्सिर ९ गते। मकवानपुरको थाहा नगरमा शनिबारबाट साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ सुरु भएको छ। पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ थाहा कला केन्द्रले एक हप्ते थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गरेको हो।

फिल्म फेस्टिवलको शनिबार थाहा नगरको पालुङमा उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले थाहा नगरलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल भईरहेको भन्दै उद्योगको स्थापना र विकासले रोजगारी वृद्धिसँगै समृद्धिमा सहयोग पुग्ने बताउनुभयो।

 कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले पालिकाले कृषि, पर्यटन, कला र मनोरञ्जनको क्षेत्रको विकासका लागि गतिविधि गर्दै आएको बताउनुभयो। 

थाहा फिल्म फेस्टिवल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले मकवानपुरको उत्तरी क्षेत्रलाई फिल्म सिटीको रुपमा विकास गर्दै पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन थाहा फिल्म फेस्टिवल आयोजना गरिएको जानकारी दिनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, थाहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, फ्लोरिकल्चर एसोसिएसनका मिनबहादुर तामाङ, आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तान, नेकपा माओवादी केन्द्र थाहा नगर समिति अध्यक्ष विनोदकुमार लामा, जनकल्याण माविका प्रधाध्यापक सानोभाइ कार्कीलगायतले थाहा नगरको कला, संस्कृति र पर्यटन क्षेत्रको विकासका बारेमा चर्चा गर्नुभएको थियो।  

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको फिल्म फेस्टिवलको पहिलो दिन शनिबार थाहा नगरको पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रर्दशनी गरिएको थियो। 

कार्यक्रममा कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विजय श्याम अमात्य, बाबु साहेब बलामी, वीरमान स्याङ्तान, सगुन तामाङ र केशव सापकोटालाई सम्मान गरिएको थियो।

फिल्म फेस्टिवलमा छ वटा चलचित्र, १६ वटा लघुचलचित्र र छ वटा वृत्तचित्र प्रदर्शनी गरिने भएको छ। डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने छ।

 

थाहा कला केन्द्रको आयोजनामा मकवानपुरको थाहा नगरमा थाहा फिल्म फेस्टिवल–२०२३ को उद्घाटन कार्यक्रमका सहभागीहरु। तस्बिरः राममणि दाहाल