• १३ मंसिर २०८१, बिहिबार

कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरौँ : मुख्यमन्त्री शर्मा

blog

नवौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा। तस्बिर: नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, मङ्सिर ९ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ। 

शनिबार वीरेन्द्रनगरमा आयोजित नवौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलग अलग व्यवसाय गर्न जरुरी भएको बताउनुभयो।

मुख्यमन्त्री शर्माले त्यसका लागि उत्पादनको वर्गीकरण गर्न भौगोलिक कलष्टर छुट्याउने योजना सरकारको रहेको बताउनुभयो। ‘‘उच्च हिमाली, पहाडी, खोँच आदि कलष्टर छुट्याएर अघि बढ्ने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौं’’, उहाँले भन्नुभयो।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा अझै पनि सामन्तवादी उत्पादन शैली हाबी भइरहेको समेत बताउनुभयो । उहाँले विगतदेखि नै कर्णालीमा नुनदेखि सुन फलाउने सामन्तवादी सोच कृषि क्षेत्रमा हाबी हुँदै गइरहेको हुँदा कर्णालीमा कृषि जन्य उद्योग नफस्टाएको बताउनुभएको हो। मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगले बाहिरबाट कच्चा पदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको जनाउनुभयो।  

अहिले कर्णालीमा सञ्चालित उद्योगधन्दा हेर्नुभयो भने जम्मै कच्चा पदार्थ बाहिरबाट ल्याइएको पाइन्छ। त्यसले केही व्यक्तिलाई रोजगारी दिए पनि यहाँको आर्थिक क्रियाकलाप सोचे अनुरूप हुन सकेको छैन। मुख्यमन्त्री शर्माले भन्नुभयो, ‘‘अब बाहिरबाट कच्चा पदार्थ ल्याएर होइन, हाम्रो कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न आवश्यक छ। हाम्रो प्रदेशमा रहेका अमूल्य जडीबुटी खेर गइरहेको छ। यहाँका कच्चा पदार्थलाई प्रयोगमा ल्याउने उद्योगहरू कर्णालीमा आवश्यक छन्।’’ 

शर्माले भन्नुभयो, ‘‘हामीले उद्योगीलाई ऋण दिन स्थानीय तहसँगको समन्वयमा लघुवित्त स्थापना गर्न २५ करोड विनियोजन गरेका छौँ। तर विडम्बना सङ्घीय सरकारले कानुनी बाटो फुकाई दिएको छैन। उहाँले उद्योगीलाई गुणस्तरीय सामान उत्पादन गर्न सुझाव दिनुभयो।’’

उहाँले प्रदेशले गुणस्तरको सामान उत्पादन गर्न सक्ने बताउनुभयो। ‘‘कर्णाली प्रदेश प्राकृतिक रूपमा सबै प्रदेश भन्दा बढी धनी छ। खानी होस, जङ्गल होस, पानी होस, हावापानी होस हामी सबैभन्दा बढी धनी छौँ। तर यसको उपयोग गर्ने कुरामा हामी पछि परेका छौँ।’’