• १० मंसिर २०८१, सोमबार

शान्तदास दाइ, स्वयम्भूको आँखा र एक साँझ (कविता)

blog

अस्ताइसकेको छ आजको घाम

बिस्तारै पारि स्वयम्भूको डाँडाबाट

मन छैन त्यो ठाडो उकालो उक्लिएर

एक्कासि बुद्धका आँखा स्पर्श गरूँ

र माने घुमाउँदै, शान्तिको कामना गरूँ

अँह पटक्कै मन छैन, शान्तिका लागि अहिले एउटा बत्ति बालूँ

र चुपचाप मौन धारणा गरूँ

धमिला भइसकेका छन् यी आँखाहरू

मन छैन अब फेरि त्यो ठाडो उकालो चढेर

वज्रलाई हातमा लिऊँ र

शान्तिको मन्त्र जप्दै

पटक पटक मञ्जुश्रीको मूर्तिलाई ढोगूँ ।

कतै सोधूँ लाग्छ आज,

खै तपाईंको त्यो शक्तिशाली तरबार ?

थुप्रै अनुत्तरित प्रश्न छन् मसँग

थाहा छैन म कहाँ उभिएको छु ?

जब देख्छु तल बगरमा बग्रेल्ती गिद्धका बथान

अनि जल्दै गरेका ती लासहरूबाट आएका धुवाँको कालो मुस्लो

र नमिठो गन्धको आतङ्क

कहाली लाग्दो त्यो साँझ

खै, म कसलाई सोधूँ ?

आज पनि निरन्तर, चुपचाप छन् स्वयम्भूका आँखा

दोरम्बा लिवाङ वा गाजापट्टीको पीडामा कुनै प्रतिव्रिmया छैन, 

कुनै आभाष छैन !

रहर छैन अब फेरि त्यो ठाडो उकालो उक्लिएर

स्वयम्भूलाई प्रार्थना गरूँ

र घण्ट बजाउँदै

माने घुमाउँदै आफ्ना अभीष्ट पूरा हुने कामना गरूँ

 निस्तेज भइसकेको मेरो शरीर,

अब कुनै भजन गाउन मन छैन

म थाकित छु । म त्रसित छु ।

र पनि वर्षौं चुपचाप हेरिरहेछु

केवल स्वयम्भूका आँखाहरूलाई ।