• २१ असार २०८१, शुक्रबार

दुईसय रुख काटियो, सम्बन्धित निकाय मौन

blog

वनबाट काटिएका रुख । तस्विर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर ८ गते । गण्डकी प्रदेश सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङले पूर्वसांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रालिले सरकारी नीतिविपरीत करिब २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फँडानी हुँदा पनि स्थानीय प्रशासन मौन रहेकोमा आपत्ति जनाउनुभएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका –१ भ्राताङमा रहेको मनाङ भ्याली वाइनले जनकल्याण प्राविको ३८ रोपनी जग्गामा रहेको रुख तथा बिरुवा काटी दारु फ्याक्ट्री सञ्चालन गरिरहेको छ । माथिल्लो मनाङको मनाङ समाज र मनाङ मर्स्याङ्दी क्लबको जग्गा भाडामा लिएर स्याउ फार्म सञ्चालन गर्दैआएको एग्रो मनाङले हालै सो जग्गाको पछाडिपट्टि रहेको वनको २०० भन्दा बढी रुख फँडानी गर्दै डोजर लगाएर सम्याएको उहाँले बताउनुभयो ।

स्याउ खेती विस्तार गर्नका लागि एग्रो मनाङ प्रालिले उक्त वन फँडानी गरेको उहाँको भनाइ छ । पूर्वमन्त्री गुरुङले भन्नुभयो, “पहिला पनि यो विषय उठेको रहेछ, अहिले विद्यालयको जग्गामा भएका रुखबिरुवा फँडानी गरेर वाइन फ्याक्ट्री चलाइरहेको रहेछ । यी सबै अनियमितता टुलुटुलु हेरेर बस्न सकिनँ, यो लज्जाको विषय हो । अब कानुनी बाटो अपनाउँछु ।”

उहाँले हालै मात्र २०० भन्दा बढी रुख काटेको, योभन्दा पहिले ३ हजार १ सय वटा पुराना रुख काटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्य दाउराको भाउमा मात्र हेर्ने हो भने पनि ५० करोड रुपियाँभन्दा बढी मूल्य पर्छ, यो मनाङको सम्पत्ति हो । यसलाई मास्न बेच्न पाइँदैन, यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले मनाङ समाज र मनाङ मर्स्याङ्दी क्लबको जग्गा भाडामा लिएर स्याउ खेती गरेको बताउनुभयो । उहाँले जम्मा ७ सय ३५ रोपनी जग्गा भाडामा लिएको, ५ सय ५० रोपनीमा स्याउ खेती विस्तार गरेको, अझै करिब २ सय रोपनी जग्गामा खेती विस्तार गर्न बाँकी रहेको बताउनुभयो । 

‘हामीले भाडामा लिएको जग्गा नै भोगचलन गरेको हो, त्यहीभित्र स्याउ खेतीका लागि बाँकी रहेको जमिनमा खेती विस्तार गर्न जग्गा सम्याउने तथा फाँड्ने काम भएको हो’ उहाँले भन्नुभयो, ‘दुईसय रोपनीको त त्यत्तिकै भाडा तिर्दैछु, भाडा तिरेको जमिनको भोगचलन त गर्न पाउनुपर्छ नि ।’

विद्यालयको विषयमा जिज्ञासा राख्दा १०–१२ वर्ष पहिला त्यहाँ विद्यालय भएको उहाँको स्वीकारोक्ति छ । विद्यालयको विषयमा प्रस्ट्याउँदै उहाँले भन्नुभयो, ‘हामीले कुनै विद्यालयको जग्गा मिचेका छैनौं, नापी, मालपोत छँदै छ आएर नापे भइहाल्छ ।’

‘सात गाउँको स्याउ खेती हेर्न हरेक गाउँको एक घरपरिवार त्यहाँ बस्थे । उनीहरुका छोराछोरी बालबच्चा पढ्नका लागि त्यहाँ जनकल्याण प्रावि रहेको थियो’ उहाँले भन्नुभयो, ‘स्कुलको नाममा जग्गा त राख्यो होला ।’ मनाङका सबै वन जङ्गलहरु अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अधीनमा छन् । सो वनको सम्पूर्ण रेखदेख र विस्तारको जिम्मा पनि एक्यापमै निहित रहेको बताइन्छ । 


एग्रो मनाङ प्रालिले रुख काटेको बारे आफूहरुले सुनेको अनुमति चाहिँ नलिएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँले यकिन कुरा नापी लिएर नापजाँच गरेपछि मात्रै थाहा हुने बताउनुभयो । यता शिक्षा समन्वय एकाइ प्रमुख मतिलाल चपाईंले यस विषयमा आफू अनभिज्ञ रहेको बताउनुभयो । विद्यालय थियो भन्ने सुनेको तर आफूले नदेखेको उहाँले बताउनुभयो । 

त्यसैगरी विद्यालयको सम्बन्धमा वडाध्यक्ष मिङमार गुरुङलाई सम्पर्क गर्दा त्यसबारे आफूलाई याद नभएको बताउनुभयो । उहाँले पहिलाको हिसाबले सात गाउँको भएकाले आफूलाईभन्दा मनाङ समाजलाई बढी थाहा होला भन्नुभयो । उहाँले भन्नुभयो, ‘मभन्दा अघिको वडाध्यक्षले के गर्नुभयो थाहा भएन, स्कुलको विषयमा के रहेछ बुझ्दैछु ।’

मनाङ ङिस्याङ गाउँपालिकाका सूचना अधिकारी नुमनाथ पाध्यलाई एग्रो मनाङले ३८ रोपनी जग्गा अतिक्रमण गरी रुख फँडानी गरेको रहेछ भन्ने जिज्ञासामा आफूलाई यस विषयमा जानकारी नभएको बताउनुभयो । उहाँले आफूले विद्यालय नदेखेको तर स्याउ फार्म देखेको बताउनुभयो ।

यता गाउँपालिकाका अध्यक्ष कान्छा घलेलाई यस विषयमा जिज्ञासा राख्दा एग्रो मनाङले भाडामा लिएको जमिनको रुख कटानी गरेको बताउनुभयो । उहाँले बाहिरको रुख फँडानी नगरेको जिकिर गर्दै नापजाँच गरेपछि मात्र सबै कुरा थाहा हुने बताउनुभयो ।