• ९ जेठ २०८१, बुधबार

घोडा चढेर मुक्तिनाथ जाँदै तीर्थयात्री

blog

रानीपौवादेखि मुक्तिनाथ मन्दिर पुग्न घोडा चढेर जाँदै तीर्थयात्री र पर्यटकहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ८ गते । सडकको लामो यात्राले थाकेका तीर्थयात्री र पर्यटक मुस्ताङ पुगेर घोडा चढ्दा रमाउँछन् । सहर बजारमा सवारीसाधन चढेर वाक्क भएका पर्यटकहरु मुक्तिनाथ पुगेपछि घोडा चढेर आनन्द लिने गर्छन् ।

प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका तीर्थयात्री र पर्यटकहरु मन्दिरदेखि केही तल रानीपौवाबाट घोडा चढी पुग्ने गर्दछन् । रानीपौवाबाट मन्दिर जान २० मिनेट जतिको पैदलयात्रा गर्नुपर्छ । यहाँ तीर्थयात्री र पर्यटकको सहजका लागि चिटिक्क पारेरे पदमार्ग पनि निर्माण गरिएको छ । घोडाका लागि अर्को बाटो छ । 

सहर बजारबाट आएका पर्यटकका लागि घोडचढी यात्रा नौलो हुन्छ । घोडचढीको अनुभव लिन र रमाइलोका लागि पनि तीर्थयात्रीहरु घोडा चढ्ने गरेको घोडा व्यवसायीहरु बताउँछन् । 

सिजनमा यहाँका घोडा व्यवसायीलाई तीर्थयात्री र पर्यटक बोक्न भ्याइनभ्याई हुन्छ । बालबालिका र युवायुवतीहरु रमाइलोका लागि र  वृद्धवृद्धाहरु हिँड्न कठिन भएर घोडा चढ्ने गर्दछन् । घोडाचढी यात्रा मेरा लागि नौलो थियो । सहर बजारमा घोडा देख्न पनि पाइँदैन विहानी श्रीस मगरले भन्नुभयो, ‘‘जीवनमै मैले घोडा चढेर नौलो अनुभव लिएँ । धेरै रमाइलो हुने रहेछ ।’’

मुक्तिनाथमा घोडा व्यवसायलाई व्यवस्थित गर्न र घोडाको संरक्षण गर्न घोडा व्यवस्थापन समिति गठन गरिएको छ । सिजनका समयमा तिर्थयात्री र पर्यटकलाई मुक्तिनाथ पुर्‍यान घोडालाई भ्याइनभ्याई हुने व्यावसायीहरु बताउँछन् । घोडा चढ्नेहरु बढेसँगै घोडा व्यवसायीलाई पनि राम्रो आम्दानीको स्रोत बनेको छ । 

सहरबजार तिरबाट आएका तीर्थयात्री र पर्यटकहरु रमाइलोका लागि घोडा चढ्ने गरेका छन् मुक्तिनाथका घोडा व्यवसायी हर्क गुरुङले भन्नुभयो, ‘‘असोज–कात्तिक र चैत–वैशाखको याममा घोडालाई पर्यटक बोक्न भ्याइनभ्याइ हुन्छ ।” घोडा चढेर पर्यटकहरु आनन्द लिने गरेको उहाँले सुनाउनुभयो । रानीपौवादेखि मन्दिरसम्म पुगेको प्रतिव्यक्ति चारसय रुपियाँ शुल्क लिने गरेको उहाँले बताउनुभयो । “व्यवसायीहरु मिलेर आलोपालोको व्यवस्था मिलाएका छौं”, उहाँले भन्नुभयो । 

मुक्तिनाथका साथै दामोदर कुण्ड पुग्न हिँड्न नसक्ने पर्यटकका लागि घोडा सहयोगी बनेका छन् । घोडा चढेर उकोलोमा यात्रा गर्दा रमाइलो लागेको बेनीबाट मुक्तिनाथ मन्दिर दर्शन गर्न आउनुभएकी कमलकुमारी पुनले बताउनुभयो । 

९२ वटा घोडा मुक्तिनाथमा तीर्थयात्री बोक्न प्रयोग भएका छन् । एक दिनमा चारदेखि छ पटकसम्म एउटा घोडाले पालो पाउने गरेको घोडा व्यासायी गुरुङले सुनाउनुभयो । 

एउटा घोडाको मूल्य एक लाख ५० हजारदेखि दुई लाखसम्म पर्छ । मुस्ताङ र ढोरपाटन क्षेत्रका घोडा मानिस चढ्न मिल्ने अग्ला र बलिया मानिन्छन् । घोडा संरक्षण र पर्यटन प्रवर्धन गर्न यहाँ घोडादौड प्रतियोगिता आयोजना हुने गरेको छ । मुक्तिनाथमा यार्तुङ पर्वका अवसरमा आयोजना गरिने घोडादौड प्रतियोगिता विशेष आकर्षणको रुपमा लिने गरिन्छ । घोडादौड प्रतियोगिताले पर्यटक भित्र्याउन सहयोग पुगेको मुक्तिनाथका पर्यटन व्यवसायी रविन सुवेदीले बताउनुभयो ।