• ४ पुस २०८१, बिहिबार

मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्छ : स्वास्थ्यमन्त्री सिंखडा

blog

स्वास्थ्यमन्त्री सुशीला सिंखडा आमाघरको समुद्घाटन गर्दै ।

प्रनिश गिरी

कुश्मा-पर्वत, मङ्सिर ८ गते । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले मातृशिशु मृत्युदर शून्यमा झार्नुपर्ने बताउनुभएको छ । पर्वत जिल्ला अस्पतालमा निर्माण गरिएको आमा प्रसूति प्रतीक्षा गृह आमाघरको समुद्घाटन समारोह कार्यक्रममा स्वास्थ्यमन्त्रीले यस्तो बताउनुभएको हो । 

पर्वत अस्पतालमा टाढाबाट प्रसुतीका लागि आउने महिला दिदीबहनीहरुलाई सुरक्षित सुत्केरी व्यवस्थाका लागि आमा प्रसूति प्रतीक्षा गृह आमाघरको निर्माण गरिएको छ । स्वास्थ्य मन्त्री सिंखडाले आमाघरले आगामी दिनमा महिलाहरुलाई अस्पतालको स्वास्थ्य सेवाप्रति विश्वास दिलाउन सक्ने गरी राम्रो सेवा दिनुपर्नेमा बताउनुभयो । 

स्वास्थ्य मन्त्री सिंखडाले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार र व्यवस्थित बनाउन आफूले हरप्रयास गरिरहेको बताउँदै भन्नुभयो, “गण्डकी प्रदेशमा जिल्ला अस्पताल स्वास्थ्य रिफर सेन्टर जस्ता थिए । अहिले ११ वटै जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेट नियुक्ति गरिएको छ । प्रदेशमा ९०० जना डायलाइसिसका बिरामी प्रतिक्षामा बसेको अवस्था थियो । अहिले त्यो दर ३०० मा झरेको छ । अझ वास्तविक डाटा आउदा झनै कम आउनेछ । विगत ३२ वर्षदेखि स्तरोन्नती हुन नसकेका जिल्ला अस्पताललाई कम्तीमा पनि एक सय जनरल वेडको अस्पताल बनाउनुपर्छ भनी मन्त्री क्याबिनेटमा प्रस्ताव गरिएको छ ।”

स्वास्थ्य मन्त्री सिंखडाले सुशासनलाई जोड दिँदै स्वास्थ्य क्षेत्रको विकासका लागि सुशासन र भ्रष्टाचार रोक्ने हो भने बजेटको अभाव नभएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशको नागरिकहरु स्वास्थ्य सेवाका लागि भनी खैरेनी काटेर उता जानु नपर्ने गरी स्वास्थ्य क्षेत्रको विकास र विस्तार गर्न आफू प्रतिबद्ध रहेको उल्लेखसमेत गर्नुभयो । 

आमा घरमा प्रसूतिका लागि आउने महिला दिदीबैहिनीहरुका लागि निःशुल्क खानबस्नको व्यवस्था छ । सुत्केरी हुनुभन्दा पहिले र पछि पनि आमाघरमा खानेबस्ने सुविधा हुँदा गरिब र सीमान्तकृत महिलाहरुलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ । हाल एक पटकमा ४ जनासम्म सुत्केरी दिदीबहिनीलाई खानबस्नको व्यवस्था गरिएको छ भने पछि यसलाई सेवा विस्तार गर्दै जाने अस्पताल सञ्चालक समितिको अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । 

आमाघर निर्माणपछि सुत्केरी अवस्थामा स्वास्थ्य उच्च जोखिममा रहेका दिदीबैनीहरुले निःशुल्क खानेबस्ने र स्वास्थ्य सेवा पाउँदा मातृशिशु मृत्युदर समेत घट्ने जिल्ला अस्पतालका प्रमुख डा. हेमन्त बाँस्तोलाले विश्वास व्यक्त गर्नुभएको छ । डाक्टर बाँस्तोलाका अनुसार जिल्ला अस्पतालमा गत वर्ष सुत्केरी स्वास्थ्य सेवा लिनेको सङ्ख्या तीन सय ८७ जना थियो । सोमध्ये ९७ जनाको अप्रेशन गर्नुपरेको थियो । त्यसैगरी यस आर्थिक वर्षमा अस्पतालमा सुत्केरी स्वास्थ्य सेवा लिनेको सङ्ख्या १४० छ । यसमध्ये ३९ जनाको अप्रेशन गरिएको हो ।