• २७ वैशाख २०८२, शनिबार

बालबालिकाको पोषण सुधार

blog

केदार तिमल्सिना 

बनेपा, मङ्सिर ८ गते । पछिल्लो वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्यामा कमी आएको छ । स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूले विभिन्न सङ्घ संस्थाको सहकार्यमा कुपोषित बालबालिकालक्षित कार्यक्रम सञ्चालन गरेपछि कुपोषित बालबालिकाको सङ्ख्या घटेको हो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले अघिल्ला वर्षको तुलनामा गत वर्षदेखि यस जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले बताउनुभयो । उहाँले कुपोषित बालबालिकालाई लक्षित गर्दै कार्यालय तथा स्थानीय तहले सोही अनुसारका कार्यक्रम अगाडि बढाएका कारण कुपोषित बालबालिकाको सङ्ख्या घटेको दाबी गर्नुभयो । 

श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८/७९ मा काभ्रे जिल्लामा कडा शीघ्र कुपोषण भएका बालबालिकाको सङ्ख्या ३७ जना रहेकामा गत वर्ष जिल्लामा ३१ जना बालबालिकामा मात्रै कडा शीघ्र कुपोषण रहेको थियो । गत वर्ष मध्यम शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या १४७ जना रहेको र दुवै किसिमको कुपोषण देखिएका बालबालिकालाई जिल्लाका ३१ वटा स्वास्थ्य संस्थामा बहिरङ्ग (ओपिडी) र छ जना बालबालिकालाई मेथिनकोट अस्पतालमा अन्तरङ्ग सेवाबाट विशेष उपचार गरिएको उहाँले बताउनुभयो । उहाँले मेथिनकोट अस्पतालमा मात्रै कुपोषित बालबालिकाको अन्तरङ्ग उपचार सेवा उपलब्ध हुने बताउनुभयो । 

स्वास्थ्य कार्यालयका अनुसार चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म यस जिल्लामा २७ जनामा कुपोषण देखिएको छ । तीमध्ये आठ जनामा कडा शीघ्र कुपोषण र १९ जनामा मध्यम शीघ्र कुपोषण पत्ता लागेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो । विविध कारणले रोकिएको बृहत् पोषण प्याकेज कार्यक्रम गत वर्षदेखि पुनः सुरु भएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो । “गत वर्षदेखि पुनः सुरु भएको बृहत् पोषण प्याकेज कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीलाई तालिम दिएर सोही अनुसार कार्यक्रम सञ्चालन गरिएको छ,” श्रेष्ठले थप्नुभयो । काभ्रे जिल्लामा रहेका कुपोषित बालबालिकाको सङ्ख्या शून्य बनाउनका लागि स्वास्थ्य कार्यालयले स्थानीय तहहरूलाई भिटामिन ए, जुकाको औषधीलगायतको सहयोग गर्दै आएको छ । 

स्थानीय तहहरूले समेत स्वास्थ्य कार्यालयबाट प्राप्त भएको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने, बालबालिकालाई विभिन्न औषधी खुवाउने, गर्भवतीलाई पोषणयुक्त खानेकुरा, आइरन चक्की, अन्डालगायतका पोषणयुक्त खानासमेत वितरण गर्दै आएका छन् । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले युनिसेफ नेपालको सहयोगमा गत वर्ष जिल्लाभित्र रहेका कुपोषित बालबालिकाको तथ्याङ्क पत्ता लगाई कुपोषित बालबालिकाको सङ्ख्या शून्यमा पु¥याउने अभियान सञ्चालन गरी बालबालिकामा पोषणको अवस्थाबारे अध्ययन सुरु गरेको थियो । गत वर्ष नै अभियान सम्पन्न भए पनि अहिले पनि परिवारमा आधारित पोषण पहिचान कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।