अविनाश चौधरी
धनगढी, मङ्सिर ७ गते। कैलालीको भजनी नगरपालिकाले अतिक्रमित पुरैना तालको जग्गा खनजोत नगर्न किसानलाई आग्रह गरेको छ।
पुरैना ताल सो पालिकामा महत्त्वपूर्ण सिमसार क्षेत्र रहेकाले त्यसलाई संरक्षण गर्ने भन्दै नगरपालिकाले जग्गा खनजोत नगर्न आग्रह गरेको हो। भजनी नगरपालिका–७ चर्रामा रहेको पुरैना ताल बाढीका कारण पुरिएपछि अतिक्रमण गरेर चर्राकै किसानले खेतीपाती गर्दै आएका छन्।
जैविक विविधताले महत्त्वपूर्ण उक्त ताल संरक्षणको लागि स्थानीय सरकारले चासो दिएको छ। ताल संरक्षणका लागि अगाडि बढेको सो नगरपालिकाले ताल क्षेत्रको जग्गा खनजोत नगर्नू भनेर सार्वजनिक सूचना निकालेको छ। बाढीका कारण पुरिएको तालको संरक्षण हुन नसकेपछि २०७० सालबाट किसानले जग्गा कब्जा गरेर खेतीपाती गर्न सुरु गरेका थिए।
करिब ५२० बिघा क्षेत्रफल ओगटेको तालको जग्गा किसानको कब्जामा छ। जैविक विविधता र सिमसार क्षेत्र संरक्षणका लागि छिट्टै उक्त जग्गा नापजाँच हुने नगरपालिकाले जनाएको छ। जग्गा नापजाँच गर्ने टोली पठाउनका लागि सरोकारवाला सबै निकायलाई पत्राचार गरिसकेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो।
“तालको क्षेत्रफल यकिन नभएकाले ताल संरक्षणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “यसको क्षेत्रफल यकिन गरेर डिपीआर अनुसार अब नगरपालिकाले ताल संरक्षणको कार्य गर्छ।” प्रवक्ता चौधरीले डिपीआर बनिसकेपछि त्यस अनुसार कार्य अगाडि बढाउनका लागि बजेटको व्यवस्थापन पनि गरिने उल्लेख गर्नुभयो।
२०६४ र २०६५ सालमा आएको बाढीका कारण ठुलो पुरैना ताल पुरिन सुरु भएको थियो। दुर्लभ सारससहित कैयौँ प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बसोबास रहेको सो ताल क्षेत्र हाल कृषि जमिनमा परिणत भएको छ।
बसन्ता कोरिडोर र दुधुवा नेशनल पार्कको काखमा रहेको पुरैना ताल जलपन्छीको प्राकृतिक वासस्थान मानिन्थ्यो। सन् २००६ मा सो तालमा विभिन्न प्रजातिका नौ हजार ८२३ वटा चरा अभिलेख गरिएको थियो। सन २०२२ मा गरिएको अध्ययनको क्रममा एक हजार ५० चरामात्रै पुरैना ताल क्षेत्रमा देखिएका थिए। अतिक्रमण भएपछि धेरै चरा विलुप्त भइसकेको र अझै विलुप्त भइरहेकाले ताल संरक्षण गरिने भजनी नगरपालिकाले जनाएको छ। पुरिएको पुरैना ताल क्षेत्रमा फेरि ताल बनाउने प्रवक्ता चौधरीले बताउनुभयो।
नेपालमा संरक्षित पन्छी सारसले पुरैना तालमा ब्रिडिङसमेत गरेको संरक्षणकर्मी सुनाउँछन्। “त्यसमा वर्षभरि सारसका साथै अन्य पन्छी हजारौँको सङ्ख्यामा बस्दा ताल निकै सुन्दर देखिन्थ्यो”, संरक्षणकर्मी विजयराज श्रेष्ठ भन्नुहुन्छ,“तर, अतिक्रमणका कारण अब ताल नै रहेन।” भू-माफियाको चलखेलका कारण ताल अतिक्रमित भएको उहाँले बताउनुभयो। अतिक्रमित ताल संरक्षणका लागि भजनी नगरपालिकासहित सरोकारवाला निकायले लिएको पहल सकारात्मक रहेको श्रेष्ठले उल्लेख गर्नुभयो।