• ५ जेठ २०८१, शनिबार

रेसुङ्गामा हरिबोधिनी एकादशी मेला

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर ७ गते । गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ । विगतदेखि नै हरिबोधिनी (ठुलो) एकादशीमा रेसुङ्गा धामको महापोखरीमा विशाल एकादशी मेला लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । 

यस अवसरमा रेसुङ्गामा मेलासँगै स्नान र पूजाआजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्नेछ । नेपालकै चार धाममध्येकै एक धाम पर्ने रेसुङ्गाको पोखरीमा नुहाउँदा भूलवश भएका पाप नष्ट हुने धार्मिक मान्यता रहेको बताइएको छ । लक्ष्मीनारायणद्वारा निर्मित महापोखरीमा अयोध्याको सरयू नदी, प्रयागका गङ्गा, जमुना, सरस्वती, काशीकी भागीरथी, गया, कौशिकी, मुक्तिनाथ, कालीगण्डकी आदि पवित्र नदीबाट ल्याइएको जल राखिएको महापोखरीको स्नान गर्नाले पनि ती सबै पवित्र नदीमा स्नान गरे बराबरको अनुभूति हुने र पुण्य  प्राप्त हुने उहाँले बताउनुभयो । 

पवित्र मनले मागेको वर प्राप्त हुने ऐतिहासिक प्रमाण भएका कारणले पनि दैनिक रूपमा भक्तजन रेसुङ्गाधाममा रहेका मन्दिरहरूको दर्शनका लागि पुग्ने गर्नुभएको रेसुङ्गा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले बताउनुभयो । ‘भारतको अयोध्याका राजा दशरथलाई पुत्र प्राप्त नहुँदा रेसुङ्गाधामका ऋष्यशृङ्गद्वारा गराइएको पुत्रेष्टि महायज्ञको प्रभावबाट राम, लक्ष्मण, भरत र शत्रुघनको जन्म भएको महाभारतमा उल्लेख छ ।’ उहाँले थप्नुभयो, ‘राजा दशरथले त पुत्र नहुँदा रेसुङ्गाका ऋषिसँग वर मागेर पुत्र प्राप्त गरेका थिए भने तपाईँ हामीले रेसुङ्गामा मागे नपाइने के होला र ।’ 

त्यस्तै, महापोखरीको पवित्र जल स्नान गरी पुण्यलाभ लिन र महापोखरीस्थित पशुपति शिवलाय, भोलेनाथ मन्दिर, तथा माथि रहेका गरुडस्थान, रामकुवा, यज्ञशाला मन्दिर, राधाकृष्ण मन्दिर, सिद्धस्थान मन्दिर र विष्णुपादुकाको दर्शन गरी भ्युटावरबाट रेसुङ्गा सेरोफेरोका बजार, गाउँबस्ती र कञ्चन हिमालहरूको दृश्यावलोकन गरी भरपुर आनन्द लिन सकिनेछ । 

मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न रेसुङ्गा संरक्षण समितिले विभिन्न उपसमिति गठन एवम् जिम्मेवारी बाँडफाँट गरेको छ । पछिल्लो समय रेसुङ्गामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको उपस्थिति पनि बाक्लिएको छ । दैनिक रूपमा रेसुङ्गामा कुनै न कुनै स्थानबाट भक्तजन आउने क्रम बढेकाले रेसुङ्गा धामको यज्ञशाला परिसरमा भक्तजनलाई निःशुल्क भोजन र आवासको व्यवस्था मिलाइएको छ ।

अहिले सदरमुकाम तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएकाले रेसुङ्गा पुग्ने श्रद्धालु तथा पर्यटकलाई सवारी साधनमा यात्रा गर्न सहज बन्दै गएपछि रेसुङ्गा पुग्ने धार्मिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको बताइएको छ । रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने भन्दै प्रचुर सम्भावना हुँदाहुँदै पनि पछि परेको रेसुङ्गा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि यो अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।