• ११ मंसिर २०८१, मङ्गलबार

गरिबी न्यूनीकरण रणनीति

blog

जीवन निर्वाह गर्न न्यूनतम पूर्वाधार नहुनु एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्नु वा सक्षम नहुनुले गरिबको चित्रण गर्छ । अभाव, अन्योल, अस्थिर, अपहेलित र असुरक्षित जीवनमा गरिबीको जीवनचक्र रहेको हुन्छ । गरिबी मानव जीवनको पीडाबोध हुने अवस्था हो । गरिबीलाई अर्थशास्त्रको सिद्धान्तले व्याख्या गरिए तापनि यो समाजशास्त्र र मानवशास्त्रसँग पनि सन्निकट भएको विषय हो । सामान्य अर्थमा गाँस, बास र कपासको व्यवस्थापन हुन कठिन भएको मानव जीवन नै गरिबी हो । 

जीवन जिउन आवश्यक पर्ने स्रोत र साधनमा पहुँच नहुनु, चेतना र ज्ञान सिपको अभाव, शोषण र उत्पीडनमा पर्नु र पुरातनमा विश्वास गर्नु एवं समसामयिक रूपमा आफूलाई रूपान्तरण गर्न नसक्नु गरिबीका विशेषता हुन् । सिद्धान्तत जीवन जिउने न्यूनतम पूर्वाधार हुन नसकी कठिनताको अवस्थालाई गरिबी भनिएको पाइन्छ । 

विश्वको दिगो विकास लक्ष्यको पहिलो बुँदा नै भोकमरी र गरिबीको अन्त्य रहेको छ । गरिबलाई सापेक्ष र निरपेक्षको रूपमा हेर्ने गरिन्छ । सापेक्ष गरिबी अरूको भन्दा कम वा बढीलाई देखाउँछ भने निरपेक्ष गरिबीले गरिबीको रेखाभन्दा तलको अवस्थालाई चित्रण गर्छ । नेपालमा गरिबीको रेखामुनिको जनसङ्ख्या १७ प्रतिशत रहेको छ । विश्व बैङ्कले प्रति दिन एक डलरभन्दा कम आम्दानी भएकोलाई अति गरिब र दुई डलरसम्म आम्दानी हुनेलाई गरिब भनिएको छ । सन् २०२२ को तथ्याङ्कले विश्वमा ७८३ मिलियन जनता भोकमरीको समस्यामा रहेको बताइएको छ । विश्वमा एक अर्ब, दक्षिण एसियामा ४० करोड, नेपालमा ५१ लाख अति गरिब रहेको उल्लेख छ । विश्वका दुई अर्ब ६० करोड मानिस गरिबीमा रहेका छन् । 

गरिबीलाई क्षेत्रगत रूपमा हेर्दा दुर्गम र आधारभूत आवश्यकताको सुविधाको पहुँच नभएको अवस्थाले भौगोलिक गरिबीको चित्रण गर्छ । औसत आयु कम, बाल र मातृ मृत्युदर उच्च, साक्षरता न्यून र फरक क्षमता एवं कुपोषित अवस्थाको गरिबीलाई मानवीय गरिबी भनिन्छ । दलित र उपेक्षित वर्गसहित पुरुषभन्दा महिलामा व्यापक गरिबीलाई सामाजिक गरिबीको रूपमा हेरिन्छ । २१०० क्यालोरीभन्दा कम आहारा भएको अवस्थालाई जीव विज्ञानले गरिबी भनिएको छ । निम्न आय भई जीवन जिउन कठिन भएको गरिबीलाई आर्थिक रूपमा विपन्न भनिन्छ । शासकीय रूपमा पछाडि पारिएका गरिबलाई अपहेलित र शोषित गरिबीको रूपमा हेर्न सकिन्छ । विपत् र द्वन्द्वका कारण घरबारबिहीन हुनुपर्ने, धनजनको क्षति, अरूको सहयोग र आश्रयको अपेक्षा गर्नुपर्ने गरिबी आकस्मिक गरिबीको रूपमा लिइन्छ । 

अर्थशास्त्रले मुख्यतः आर्थिक पहुँच नहुनु, आयआर्जन गर्न सक्षम नहुनु, जीवनयापन गर्ने सामान्य क्रियाकलाप कमजोर देखिनुलाई गरिबी भनेको छ । गरिबीको चक्रमा मानिसको रोधन र पीडा रहेको हुन्छ । आवश्यक वस्तुको मागको आपूर्ति हुन नसक्नु वा माग पूर्ति गर्न आम्दानी नहुनु गरिबीको अवस्था हो । गरिबको आम्दानी कमजोर हुँदा आवश्यक वस्तुको आपूर्ति पक्ष कमजोर देखिन्छ ।

गरिबीको समस्यालाई समयमै सम्बोधन गर्नु शासकीय दायित्व हो । गरिब हुनु दोष होइन तर गरिबीको चक्रमा रहिरहनु भने कठिन अवस्था हो । गरिबीको अवस्था राजनीतिक भूमिकामा निर्भर हुन्छ । राजनीतिक प्रतिबद्धताबिना गरिबी न्यूनीकरण गर्न कठिन हुने हुँदा आर्थिक र सामाजिक रणनीतिक सोचबाट गरिबीको न्यूनीकरण गर्न सहज हुन्छ । 

गरिबी निवारणका लागि पहिलो काम गरिबको पहिचान हो । गरिबी न्यून गर्न तहगत सरकारले रणनीतिक योजनासहित गरिबीको आँकडा लिने र समय समयमा अद्यावधिक गर्ने गर्नु पर्छ । गरिबको सूचकका तथ्यले प्रमाणित भएका गरिबलाई राज्यले चिन्नु पर्छ । दोस्रो, गरिबको पहिचानपछि गरिब भएको कारण अनुसार न्यूनीकरणका उपायहरू तय गर्ने जस्तै, आर्थिक अवसरबाट आयआर्जन गर्न सक्ने बनाउने र द्वन्द्वबाट हुने गरिबीको लागि सामाजिक न्याय र आवाजहरूको सम्बोधन गर्नु पर्दछ । तेस्रो आर्थिक गरिबीको गहिराइ अनुसार आधारभूत आवश्यकता पूर्ति र आर्थिक अवसरका लागि क्षमता विकाससँगै पहुँच र प्राथमिकतामा जोड दिनु पर्छ । विशेष आर्थिक अवसर दिन रोजगारी सिर्जना, उद्यमशीलताको विकास, आर्थिक अवसरहरूको बढोत्तरी गरी गरिबी घटाउन सकिन्छ । चौथो, भौगोलिक गरिबी दुर्गम र विकटता एवं पहुँचको कमीले हुने हँुदा दुर्गमलाई सुगम बनाउन सडकलगायतका गुणस्तरीय पूर्वाधारमा जोड दिने, आधारभूत आवश्यकताको पहुँच बढाउने र स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारीमा जोड दिनु पर्छ । पाँचौँ, मानवीय गरिबी हटाउन शिक्षा र स्वास्थ्यमा अर्थपूर्ण लगानी गरी प्रभावकारी नतिजा हासिल गर्न शारीरिक स्वस्थताका लागि गरिने क्रियाकलापमा जोड दिने र औसत आयु बढाउने, बाल र मातृ मृत्युदर घटाउने, कुपोषित भइ अपाङ्गता हुन नदिन पूर्व सचेतनासहित स्वास्थ र शिक्षाको प्रभावकारी सेवाबाट मानवीय गरिबी न्यून गर्नु पर्छ । छैटौँ, सामाजिक कारणले हुने गरिबीका लागि सामाजिक विभेदको अन्त्य गरी सामाजिक न्यायमा शासकीय भूमिका प्रभावकारी बनाउनु पर्छ । विभेद न्यूनीकरण, समतामूलक विकास, पिछडिएका लागि विशेष अवसर सामाजिक न्यायमा जोड दिई सामाजिक गरिबी कम गर्न सकिन्छ । सातौँ, विपत् र द्वन्द्वका कारण हुने गरिबीका लागि सन्तुलित विकास र सबै वर्ग र समुदायको हित हुने नीति र कार्य दिशा भएमा द्वन्द्वबाट हुने गरिबी कम हुन्छ भने विपत्को अग्रीम जानकारी, पूर्वाधार विकासमा वातावरणको जोखिम आकलन र विपत् प्रतिरोध पूर्वाधारको विकास एवं विपत्विरुद्धका सचेतनाका कार्यक्रममा जोड दिन आवश्यक छ । आठौँ, गरिबी निवारणका अल्पकालीन योजना र त्यसको प्रभावसँगै दीर्घकालीन रणनीतिक योजना कार्यान्वयनमा ल्याउनु पर्छ । गरिबीका बहुआयामिक प्रभावको आकलन गरी बहुक्षेत्रमा गरिबी निवारणका प्रभावकारी योजना बनाई लागु गर्नु पर्छ । नवौँ, गरिबी निवारण राज्यको दायित्व हो तर निजी र गैरसरकारी क्षेत्रसँग सहकार्य गरी निवारणका लागि संयुक्त कार्यमा जोड दिनु पर्छ । नवौँ, गरिबी निवारणका लागि स्रोत पूर्ति गर्न विश्व साझेदारी बढाइ स्रोतको सुनिश्चिता गर्न कूटनीतिक पहलमा लाग्नु पर्छ । यी सबै कार्यका लागि तहगत सरकारले आआफ्नो जिम्मेवारीका लागि दोहोरोपना नहुने गरी समन्वयात्मक तरिकाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

नेपालले गरिबी अन्त्य गर्ने सोचसहित विभिन्न रणनीति तय गरेको पाइन्छ । गरिबीको पहिचान गरी परिचयपत्र दिने कार्यक्रम रहेको र यो कार्यक्रम समयमै सम्पन्न हुन नसक्दा गरिब लक्षित कार्यक्रम प्रभावकारी हुन सकेको पाइँदैन । गरिबी निवारण कोषको स्थापनापछि गरिबीका कार्यक्रम प्रभावकारिता देखिएन । क्षेत्रगत गरिबी निवारणका कार्यक्रमबिच समन्वयात्मक प्रयत्न पनि कमजोर देखियो । समग्रतामा गरिबी निवारण कार्यक्रमबाट गैरगरिबले अवसर लिएको आरोप पनि छ । गरिबी निवारणका कार्यक्रमहरू प्रभावकारी बनाई बहुआयामिक गरिबीको न्यूनीकरणमा सुधार गर्न क्षेत्रगत जिम्मेवारीको खाँचो छ । 

गरिबी राजनीतिक मुद्दा हो तर आर्थिक र सामाजिक परिवेशमा प्रभावकारी कदम नचाली गरिबी हटाउन सकिँदैन । गरिब लक्षित कार्यक्रमसहित आर्थिक अवसरको पहुँच र प्राथमिकताबाट सामाजिक न्यायको सुनिश्चितता भएमा अरू कारणका गरिबी पनि स्वतः कम हुँदै जान्छन् । हाम्रो पन्ध्राँै योजनाको गरिबी निवारणको सफलताको तथ्यगत मूल्याङ्कन गरी सोह्राँै योजनामा अर्थपूर्ण रणनीतिक योजनासहित तहगत सरकारको जिम्मेवारी र भूमिका प्रस्ट हुनु पर्छ । विश्व समुदायमा गरिबी निवारणका सफलतासँगै मित्र राष्ट्र चीनको सफलताको आत्मसात् गर्न सके नेपालको गरिबी कम गर्न सकिन्छ ।

  

Author

भरत गौतम