• ६ जेठ २०८१, आइतबार

बिहीबारका लागि सुरक्षा व्यवस्था कडा, डिआईजी नेतृत्वमा कमाण्ड सेन्टर

blog

उपत्यकामा सुरक्षा व्यवस्थाका लागि खटेका सुरक्षाकर्मीहरू । तस्बिर : सागर बस्नेत

काठमाडौं, मंसिर ६ गते । भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआईजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ ।  

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिनका लागि सुरक्षा योजना बनाएर अघि बढिएको छ । उहाँका अनुसार कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेलसहितको संयुक्त टिम गठन गरिएको छ । 

मैनालीले भन्नुभयो, “भोलि हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ । यस टिमले उपत्यकाको शान्ति सुरक्षा खलबलिन नदिन विशेष किसिमले कार्य गर्नेछ ।”

भोलि हुने प्रदर्शनमा मुठभेड हुन नदिन र शान्ति सुरक्षा चुस्त राख्न एकीकृत सुरक्षा योजना बनाइएको छ ।

बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बल्खु र तीनकुनेमा हुने प्रदर्शनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था मिलाउने छौँ, हामीसँग सुरक्षाकर्मीको अभाव छैन । तर यति सङ्ख्यामा नै परिचालन हुन्छ भन्ने छैन । आवश्यकताको आधारमा परिचालन गर्छौ ।”

उपत्यकाभित्रको शान्ति सुरक्षालाई व्यवस्थित गर्न आवश्यक भएमा ड्रोनको पनि प्रयोग गरिने उहाँको भनाइ छ । भोलि हुने प्रदर्शन शान्तिपूर्ण रूपमा नै सम्पन्न हुने विश्वास लिएको उहाँको भनाइ छ । मैनालीले भन्नुभयो, “सुरक्षा व्यवस्था कडा पार्न उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गर्छौँ । प्रविधिजन्य उपकरण ड्रोनमार्फत पनि सुरक्षा व्यवस्थाको निगरानी गरिरहन्छौँ ।” 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्लाको शान्ति सुरक्षा हेर्ने रवीन्द्रप्रसाद आचार्यका अनुसार भोलि हुने नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक जोगाउ अभियानको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेछ । 

उहाँले भन्नुभयो, “भोलि हुने प्रदर्शन शान्तिपूर्ण रूपमा नै समापन हुने विश्वास लिएका छौँ । केही अप्रिय घटना नहोस् भनेर जिल्लाभित्रको सुरक्षा व्यवस्था कडा बनाएका छौँ ।” उहाँका अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरू उपत्यकाका तीन जिल्लामै पर्ने भएका कारण भक्तपुर र ललितपुर जिल्लाका सुरक्षा समितिसँग समन्वय गरेर हातहतियारबिना उपत्यका प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।

सुरक्षा व्यवस्था कडा पार्न उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गर्छौं । प्रविधिजन्य उपकरण ड्रोनमार्फत पनि सुरक्षा व्यवस्थाको निगरानी गरिरहन्छौँ ।

भोलि आम सर्वसाधारण बिनाकुनै अवरोध बाहिर निस्कन सक्ने उहाँको भनाइ छ । दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्ने भएका छन् । युवा सङ्घले सल्लाघारीबाट र दुर्गा प्रसाईँ नेतृत्वको समूहले सानोठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने बताएका छन् ।

युवा सङ्घको जुलुस मोटरसाइकलसहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्ने र च्यासलबाट बागमती कोरिडोर हुँदै बिहान साढे १० मा युवा सङ्घको जुलुस तीनकुने पुग्नेगरी रुट तय गरिएको छ ।

प्रसाईँ नेतृत्व समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्नेगरी रुट निर्धारण गरिएको छ । आचार्यका अनुसार दुवै समूह आपसमा भेट हुँदा मुठभेड हुनसक्ने भएकाले प्रदर्शन कार्यक्रम फरक–फरक समयमा तय गरिएको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्दा दैनिक भिआइपी सवारीलाई बाधा सिर्जना भएको तथा अस्पताल र अदालत पनि त्यही क्षेत्रमा भएका कारण ३० दिनका लागि माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ ।

बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

अत्यावश्यक काममा मात्र निस्कनु  

बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको समूहले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् । सोही प्रदर्शनले उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कन अनुरोध गरेको छ । सो प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।