काठमाडौं, मङ्सिर ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा भिजिट भरतपुर २०२४ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राज्यमन्त्री सिर्पालीले पर्यटन क्षेत्र कच्चा पदार्थ भएकाले यसबाट नेपालले धेरै कुराहरू बनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा पर्यटनका सम्भावनालाई विकासमा जोड्नुपर्ने जानकारी दिनुभयो । नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा पर्यटन नीतिहरू पनि कारक रहेको भन्दै अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको उहाँको भनाइ छ । उहाँले पर्यटकहरूलाई नेपालमा ल्याएर धरै दिन कसरी राख्ने र के देखाउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको बताउनुभयो ।
‘‘पर्यटक भनेको एउटा उद्योग पनि हो । यो कच्चा पदार्थ हो । हामीले यसबाट धेरै कुराहरू बनाउन सक्छौँ । हाम्रा सम्भावनालाई हामीले विकासमा नजोड्ने वा सम्भावनाको उपलब्धि कतै न कतै भनेजसरी हाम्रो हातमा नआउने भनेको हाम्रा कतिपय नीतिहरूले पनि हो । पर्यटन ऐन पनि संशोधनको प्रक्रियामा छ ।,’’ राज्यमन्त्री सिर्पालीले भन्नुभयो, ‘‘हामी त्यसलाई विज्ञको सुझाव लिएर लामो दशकसम्म आम मान्छेको जीवनमा सरल बनाउने, आम पर्यटकहरूले त्यसलाई सरलीकृत गरेर अनुभव गर्नेगरी संशोधनको प्रक्रियामा अघि बढेको छ । पर्यटकहरूलाई नेपालमा ल्याएर धरै दिन राख्ने कुरामा यसले मद्दत गर्नेछ । पर्यटकहरू एउटा चिजमा टार्गेट गरेर आइसकेपछि कहाँ लैजाने भन्ने लक्ष्य राख्नुपर्छ ।’’
राज्यमन्त्री सिर्पालीले प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरूलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।