• १३ मंसिर २०८१, बिहिबार

'यौनिकता शिक्षालाई विद्यालय स्तरमा समावेश गर्न आवश्यक'

blog

अन्तरक्रिया गोष्ठीमा सहभागीहरु । तस्विर : भवानी ऐर ।

भवानी ऐर

गोदावरी (कैलाली), मङ्सिर ६ गते । विद्यालय स्तरको पाठ्यपुस्तकमा यौनिकतासम्बन्धी शिक्षालाई समावेश गरिनुपर्ने कैलाली-कञ्चनपुरका सरोकारवाला निकायले माग गरेका छन् । र्‍याड नेपाल नामक सामाजिक संस्थाले बुधबार धनगढीमा आयोजना गरेको अन्तक्रिया छलफलमा सहभागी स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुले सो कुरामा जोड दिनुभएको हो ।

भौतिक पूर्वाधारकासाथै सूचना सञ्चारमा विकसित टेक्नोलोजीले दुनियाँलाई साँघुर्‍याएको वर्तमान अवस्थामा बालबालिकाको शारीरिक विकासमा पनि परिवर्तन भएकाले विद्यालय तहबाट नै यौनिकता शिक्षालाई समावेश गर्न आवश्यक भैसकेको सहभागीहरुको तर्क छ । मानव स्वएम् स्वास्थ्य रहन र समाजमा भैइरहेका विकृति तथा विसङ्गति नियन्त्रण गर्न अति आवश्यक भए पनि अहिलेको विद्यालयस्तरको पाठ्यक्रममा यौनिकता शिक्षा नसमेटिएको सहभागी सरोकारवालाको गुनासो गर्नुभयो । 

कार्यक्रममा सहभागी स्थानीय तहका सबैजसो जनप्रतिनिधिहरुले पाठ्यक्रममा समावेश नभएपनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत यस्ता जानकारी दिन आवश्यक रहेको बताउनुभयो । कैलालीको गोदावरी नगरपप्रमुख शारदादेवी रोकायाले युवा तथा किशोरकिशोरीहरुको स्वास्थ्यसँग पनि सम्बन्धित भएकाले यसको बारेमा छिट्टै निर्णय लिन आवश्यक रहेको बताउनुभयो । लैगिंक हिंसा, प्रजनन स्वास्थ्य, सरसफाई, सम्बन्ध विस्तार लगायतका विषयहरु विद्यालय शिक्षामा जोडिनुपर्ने उहाँको भनाइ थियो ।

गोष्ठीका प्रस्तुती राख्दै शिक्षा तालिम केन्द्र दिपायलका प्राविधिक अधिकृत भीमप्रसाद पनेरुले यौन तथा प्रजनन स्वास्थ्य जीवनको महत्वपूर्ण पाटो भएकोले युवाहरुलाई सो विषयमा किशोरावस्थादेखि नै जानकारीे दिँदा लाभदायक हुने बताउनुभयो । पाठ्यक्रममा पनि उक्त विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । शाहीले भन्नुभयो, "वर्तमान समयमा यौनिकता शिक्षाको बारेमा जानकारी दिनु अनिवार्य भैसकेको छ, त्यसका लागि नै स्थानीय जनप्रतिनिधि र विद्यालयका शिक्षकहरुसँग छलफल गरिएको हो ।" 

यार्ड नेपालले ‘राईट हियर राईट नाउ’ परियोजना सञ्चालन गरी देशभर यौनिकता शिक्षाका बारेमा जानकारी दिँदै आएको र त्यसमा पनि विद्यालय स्तरमा युवा तथा किशोरकिशोरीहरुलाई यौनिकता शिक्षाका बारेमा जानकारी दिँदा हुने लाभका बारेमा समेत सरोकारवालासँग छलफल भैइरहेको संस्थाका टिम लिडर महेन्द्र शाहीले जानकारी दिनुभयो । विद्यालय तहमा युवा, किशोर किशोरीलाई सुहाउँदो, पाठ्यक्रम केन्द्रित शिक्षा दिनुपर्छ भन्ने मान्यता आफूहरुको रहेको र सोही अन्र्तगत नै आफूहरुले यौनिकता शिक्षाको बारेमा छलफल गर्दै आइरहेको उहाँको भनाइ थियो । 

गोष्ठीमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि, प्याब्सन, एन प्याब्सन र सरकारी विद्यालयका शिक्षकहरुको सहभागिता थियो ।