मीना कंडेल
कावासोती, मङ्सिर ४ गते । ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ । सङ्घ प्रदेश र स्थानीय गरी तीनै तहमा बाल अधिकार संरक्षण र प्रवर्द्धनका विषय सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था छन् । तर कहीँ कतै बालअधिकारका विषयमा सम्बोधन हुन नसकेको होकी भन्ने बालअधिकारकर्मी बताउँछन्।
पछिल्लो समय समुदायमा बाल विवाहको स्वरूप फेरिएको छ, पहिला अभिभावकले गर्ने गरेका थिए भने अहिले स्वयम् बालबालिकाले नै आफैँ बाल विवाह गर्ने गरेकाले पूर्वी नवलपरासीमा बाल विवाहको दर बढ्दै जान थालेको छ । कावासोती नगरपालिका १५ शेरगंजकी कल्पना मुसहर अहिले २५ वर्षकी हुनुभयो । ठुलो परिवारमा जन्मिएपछि “न राम्रोसँग पढ्न पाइयो, न खान लाउन। विवाह गरेपछि सुख हुन्छ भने सबैले त्यसैले १५ वर्षमै विवाह गरेँ,” कल्पनाले भन्नुभयो, “सानैमा विवाह गरे अहिले पछुतो लागेको छ ।
त्यस्तै, कृष्णकुमारी मुसहर पनि आजभोलि पछुताउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कक्षा ९ पढ्दा पढ्दै आफ्नै इच्छाले विवाह गरेँ अहिले पछुतो भएको छ । पढाई छोडेर बिहे गरेँ अहिले केही काम छैन बिहे नगरी पढेको भए जागिर हुन्थ्यो, काम पाइन्थ्यो होला ।” १८ वर्षमा बिहे गरी २० वर्षमा छोरा पाएकी कृष्णकुमारीलाई आफूले सानैमा बिहे गरेर दुःख पाएको हुँदा अब छोरालाई धेरै पढाउने रहर भएको बताउनुभयो ।
यो समुदायमा अझै ९५ प्रतिशत बालविवाह हुने गरेको मुसहर समुदायका अगुवाहरू बताउँछन् । गाउँमा सबै बालबालिकाको अभिभावकहरूलाई सानैमा विवाह गराउनुहुन्न, यसले पार्ने प्रभावका बारेमा सम्झाए पनि यो लागु नभएको र १५ वर्ष पुगेपछि अब बिहे गर्नुपर्छ पढ्ने होइन भनेर बिहे गरिदिने गरेको उहाँको भनाइ छ । मुसहर समुदायको बाक्लो बस्ती रहेको शेरगञ्जमा कल्पना र कृष्णकुमारी जस्तै बालविवाह गर्ने सयौँ महिला छन् ।
८५ घरधुरी रहेको यस शेरगंजमा तीन सय ३७ माझी समुदायको बसोबास छ । त्यस्तै, कावासोती नगरपालिकाको वडा नम्बर ७, ११, १२, १३ र १५ नम्बर वडामा पनि यो समुदायको बसोबास छ । स्थानीय सन्तबहादुर मुसहरले भन्नुभयो, “पहिले भन्दा केही कम त भएको छ तर अझै पनि बालविवाह हटाउन सकिएको छैन । आजभोलि त विद्यालय जाँदा उतैबाट मनपरेको केटाकेटी भागेर बिहे गर्न थालेका छन् ।” बाबुआमाले राम्रोसँग पढाउन नसकेपछि छोरीहरू आफैँ विवाह गरेर जाने गरेको यहाँका मुसहर पुरुषहरू बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमा २० वर्ष मुनिका ९० जना किशोरीले सुरक्षित गर्भपतन गरेको तथ्याङ्क छ । यसबाट के बुझ्न सकिन्छ भने आफू खुसी विवाह होस् वा पारिवारिक सल्लाहमा भएको भएपनि बालविवाह बढको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईँले बताउनुभयो ।
बालबालिकाको बनावट, संरक्षण, विकास, सहभागिता लगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि विभिन्न सघंसस्थाले कार्य गरेको भएपनि बालविवाहमा कमी आउन सकेको छैन । बालबालिकाहरूलाई बाल विवाहको असर, बाल विवाह हुनुको कारण, बाल विवाह रोक्ने उपाय र कानुनी प्रावधानको बारेमा सचेत गराउन आवश्यक रहेको किशोरी अभियन्ता राधा बोटेले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपुरमा कुल बालबालिकाको जनसङ्ख्या एक लाख १७ हजार ९४ रहेका छ । जसमध्ये बालकको सङ्ख्या ६१ हजार ६ सय ४६ र बालिकाको सङ्ख्या ५५ हजार ४ सय ४८ रहेको तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख रहेको छ । नवलपुरमा कुल जनसङ्ख्याको ३०.९७ प्रतिशत बालबालिका छन् ।