• १२ मंसिर २०८१, बुधबार

ब्याटमिन्टन खेलमा चम्किएको तामाङ परिवार

blog

गोकुल भुजेल

भोजपुर, मङ्सिर ४ गते । भोजपुर नगरपालिका –७ डाँडागाउँका दानबहादुर तामाङको घर शिल्ड, मेडल, ट्रफीलगायत पुरस्कारले भरिएको छ । सङ्घर्ष जीवनको लक्ष्य प्राप्तिको आधार हो भनेझै दानबहादुरले खेल क्षेत्रका बलियो आधार बन्नुभएको छ ।

ब्याटमिन्टनमा नेपाल च्याम्पियन तथा अन्तर्राष्ट्रिय खेलाडी रत्नजित तामाङ, सरादेवी तामाङ र नङ्शल देबी तामाङका बुबा दानबहादुर तामाङ कुशल ब्याटमिन्टन खेलाडी हुनुहुन्छ । खेल क्षेत्रमा जिरोबाट हिरो हुनुभएका दानबहादुर अहिले पनि भेट्रान्स ब्याटमिन्टन खेल्न देशभरि पुगेर विजयी हुनुभएको थुप्रै उदाहरण छन् । 

खेल क्षेत्रमा विद्यालय स्तरबाट लाग्नुभएका दानबहादुर ४२ वर्षदेखि ब्याटमिन्टन खेल खेल्न सुरु गरी अहिले ६९ बर्षसम्म खेल्दै आउनुभएको छ । खुल्ला चौरबाट सुरु भएको खेलयात्रा खेलाडी, प्रशिक्षक हुँदै रिटायर्ड अवस्थामा पुग्दा पनी उहाँको दैनीकी बिहान–बेलुका कभर्ड हल गएर खेल खेल्नु मात्र हैन, कडा प्रतिस्पर्धीलाई हराउनु पनि हाे । 

विगत तीन दशक लामो शिक्षक पेशामा आबद्ध भएका दानबहादुरले आफ्नो सबै तलब ब्याटमिन्टन खेलमै खर्च गर्नुभयो । खेल क्षेत्रमा लागेसगैँ सुरुवातमा खेल खेल्न विराटनगर जाँदा त्यहाँका बरिष्ठ प्रशिक्षकले इन्डोर हल नभएको ठाउँका खेलाडि कसरी खेल्छन् भनेर गिज्याएपछि आफु मरिमेटेर खेल क्षेत्रमा लागिपरेको उहाँ बताउनुहुन्छ । 

सुरुमा उहाँले आफ्ना छोराछोरीलाई खेलाउन लैजाँदा गाउँलेहरुले भनेको, “यो दानबहादुरले राम्रोसँग नपढाएर के खेल खेलाको, छोराछोरी बिगार्ने भयो” सुन्दा झन् इख बढेर आयो । विना कोर्ट, इन्डोर हल, विना प्रशिक्षक आफना छोराछोरीलाई रातदिन ब्याटमिन्टन सिकाएर, उत्कृष्ट खेलाडी बनाएसँगै आफू सही बाटोमा हिंडेको उहाँले आफूलाई प्रमाणित गर्नुभयो । 

जब पोखरामा अर्को खेल हुँदा छोरी सरादेवी अन्तर्राष्ट्रिय खेलाडी भनिएका (अन्डर १६) प्रतिद्वन्द्वीलाई शून्यमा पराजित गरेपछि थप उहाँमा हौसला मिलेको थियो ।  जिल्लामा १२ वर्ष जिल्ला ब्याटमिन्टन सङ्घको अध्यक्ष हुँदा उहाँले छोरा रत्नजित र छोरी सरादेवी, नङशलदेवी तामाङसहित जिल्लाबाट विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठ गरी राष्ट्रिय टिममा ६ जना खेलाडी समावेश गर्न सफल हुनुभयो । जुन खेल क्षेत्रमा जिल्लाको अहिलेसम्मकै ठूलो ऐतिहासिक उपलब्धि हो । 

खेल क्षेत्रमा उहाँले पाएको उपलब्धिहरु क्रमशः  विस. २०३२ सालमा वीरेन्द्र शिल्डमा प्रथम, २०५१ सालमा राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता भेट्रान्समा दोस्रो, २०५८ सालको राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता भेट्रान्समा दोस्रो, विसं. २०७९ सालको दार्जिलिङ भेट्रान्स (पचपन्न ओभर) कपमा प्रथम हुनुभएको थियो । 

त्यसैगरी खेल क्षेत्रमा छोराछोरीलाई सफल खेलाडी बनाएको भनी दानबहादुर र श्रीमती मायादेवी मोक्तानलाई नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पेशल अवार्ड २०७८ समेत प्रदान गरेको थियो । यता, तामाङकी श्रीमती मायादेवी मोक्तान खेल क्षेत्रमा परिवारका सबै सदस्य लाग्दा आफूले पाएको दुःख सम्झिँदा अझै पनि मन बुझाउन गाह्रो हुने बताउनुभयो । 

श्रीमानको तलब सबै खेल क्षेत्रमा खर्च हुँदा घरखर्च नै नहुने, बिरामी पर्दा समस्या हुने, पढाइ बिग्रने अर्को डर थियो । तर विस्तारै छोराछोरीले खेल क्षेत्रमा गरेको प्रगति तथा उपलब्धिले आफूलाई हौसला मिल्न थालेको र आफूलाई पनि आनन्दित बनाएको मायादेवीले बताउनुभयो । अहिले उहाँले आफनो परिवारमा जस्तै खेल क्षेत्रमा लाग्नुभएका देशभरीका खेलाडी अभिभावकलाई आफना छोराछोराको इच्छाअनुसार पथप्रदर्शन गर्न प्रोत्साहन गर्नुहुन्छ ।

तामाङका छोरा रत्नजित त्रिभुवन आर्मी क्लबबाट खेल्दै आउनुभएको छ । छोरी सरादेवी नेपाल आर्मी र नङशलदेवी भोजपुर ब्याटमिन्टन सङ्घबाट खेल्दै आउनुभएको छ । पछिल्लो समय जिल्लामा ब्याटमिन्टन खेलाडिको उत्पादन राम्रै अवस्थामा भए पनि ब्याटमिन्टन खेल क्षेत्रमा लागेका खेलाडीलाई भविष्यमा सरकार, दातृ निकाय तथा सम्बन्धित क्लबले नहेर्दा आफ्नो सुरक्षित भविष्यको खोजीमा खेल क्षेत्रबाटै पलायन हुनुपर्ने अवस्था भएको उहाँ बताउनुभयो । 

खेल मैदान (कोट) नभएको जिल्लामा विसं २०७५ मा जिल्लामा खेल क्षेत्रको विकासका लागि तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले जिल्ला सदरमुकाममा सुविधासम्पन्न कवर्ड हल निर्माण गरेपछि खेल क्षेत्रमा केही राहत मिलेको उहाँले बताउनुभयो ।