• ४ जेठ २०८१, शुक्रबार

छठघाटका लागि विशेष सुरक्षा व्यवस्था

blog

कन्हैयालाल केशरी 

पर्सा, मङ्सिर १ गते । सूर्य उपासना अर्थात् सूर्यदेवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेगमीलका अनुसार व्रतालुहरूको सुरक्षाका लागि यो व्यवस्था मिलाइएको  हो ।

प्रमुख जिल्ला अधिकारी रेगमीले सुरक्षा व्यवस्था मिलाउन जनपथ प्रहरीको स्थानीय निकाय प्रहरी चौकी र छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिसँग समन्वय र सहकार्य गरी सुरक्षा व्यवस्था मिलाउन जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले आवश्यक परेमा अन्य ठाउँबाट पनि प्रहरी जनशक्तिको व्यवस्थापन गर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले वीरगन्जका महत्त्वपूर्ण र बढी भिड हुने तथा भक्तजनहरूको बढी चाप हुने छठघाटको पहिचान गरी शुक्रबारदेखि प्रहरीले निगरानीमा राखेको बताउनुभयो । उहाँले छठघाटमा अवाञ्छित तथा आपराधिक घटना हुन नदिन सादा पोसाकमा पुरुष तथा महिला प्रहरी परिचाल गरिने बताउनुभयो । 

वीरगन्जमा सबैभन्दा बढी छठका व्रतालुहरू वीरगन्जको मुटु भनिएको पुरानो र ऐतिहासिक छठघाट घडिअर्वा पोखरी परिसरमा लगभग पाँच हजार व्रतालुहरू आउने गरेका छन् । छठपर्वमा एक घरमा एकजनाले छठपर्व गर्ने भएपनि परिवारका सबै सदस्यहरूले साँझपख वा बिहानीपखमा छठमाताको आर्सीवाद दर्शन तथा अवलोकन गर्न आउनेहरूको सङ्ख्या एक लाखको हाराहारीमा रहेकोले यहाँको सुरक्षा व्यवस्था छठ पूजा समितिले आफ्नै स्वयम् सेवकबाट पनि गराउने गरेको छ । 

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुका अनुसार छठ अवधिभरि एम्बुलेन्स, वारुण यन्त्र, प्राथमिक उपचार र एक दर्जन सिसिटिभीबाट निगरानी गरिने बताउनुभयो । उहाँले यस काम बाहेक छठ स्थलको सजावट बिजुली बत्तीमा मात्रै लगभग १८ लाख खर्चिने गरिएको बताउनुहुन्छ । सम्भवतः तराइका सबै छठघाट भन्ला बढी व्रतालु आउने छठघाटको रूपमा धडिअर्वा पोखरी परिसर रहेको उहाँको भनाइ छ । 

वीरगन्ज महानगरपालिका भित्र लगभग ४० हजार घरधुरी रहेकोले प्रत्येक घरबाट एक वा दुई जनाले छठपर्व गर्ने भएकोले लगभग ४० हजारको हाराहारीमा महिला छठ व्रतालुहरूले छठपर्व गर्ने गरेका छन् ।