अर्जुन काफ्ले
स्याङ्जा, जेठ ४ गते । फेदिखोला गाउँपालिका–१, भट्टीखानका कुसल पोखरेल र असल पोखरेलले ‘ज्योया’ नामक एआई असिस्टेन्ट विकास गर्नुभएको छ । यहाँस्थित चण्डीडाँडा माध्यमिक विद्यालयमा कक्षा–१२ मा कम्प्युटर साइन्स अध्ययनरत विद्यार्थी कुसल र असलले पालिकाको आईटी परियोजनाअन्तर्गत पाइथन प्रोग्राममार्फत ‘ज्योया’ विकास गर्नुभएको हो ।
आईटी शिक्षक विशाल लामिछानेको सहयोगमा करिब छ महिनाको अवधिमा उक्त एआई असिस्टेन्ट तयार गरिएको कुसल पोखरेलले बताउनुभयो । ल्यापटप तथा कम्प्युटरमार्फत प्रयोग गर्न सकिने ‘ज्योया’ ले प्रयोगकर्ताको निर्देशनअनुसार गीत बजाउने, युट्युब खोल्ने, वेबसाइट सञ्चालन गर्ने, गुगल क्रोम चलाउने तथा समय र मौसमसम्बन्धी जानकारी दिने क्षमता राखेको उहाँले जानकारी दिनुभयो ।
एआई र युट्युब प्रयोग गर्दै सिक्ने क्रममा ‘ज्योया’ विकास गरिएको बताउँदै पोखरेलले यसमा हाल इमेज जेनेरेसन र डाटाबेस सुविधा नभएको उल्लेख गर्नुभयो । च्याटजीपीटीजस्तै उन्नत बनाउने लक्ष्य रहे पनि अहिले यो व्यक्तिगत कम्प्युटरमा मात्र सञ्चालन हुने र आगामी दिनमा थप परिमार्जन गरी विस्तृत स्वरूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई नयाँ अवधारणा सिकाउने उद्देश्यले परियोजनाको अवधारणा प्रस्तुत गरिएको र त्यसकै आधारमा ‘ज्योया’ निर्माण भएको आईटी शिक्षक विशाल लामिछानेले बताउनुभयो । उहाँका अनुसार यो परियोजना विद्यार्थीको सिकाइका लागि उपयुक्त छ भने भविष्यमा व्यावसायिक तथा जोखिमयुक्त काममा समेत प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
‘ज्योया’सँग जोडिएको सहयोगी रोबोट हाल रिमोटमार्फत सञ्चालन हुने गरेको छ । आगामी दिनमा प्रोग्राममार्फत नै चल्ने र हिँड्ने बनाउने लक्ष्य रहेको लामिछानेले बताउनुभयो ।
सिक्दै जाँदा तयार भएको यस परियोजनाको नाम खुसीको भावबाट ‘ज्योया’ राखिएको जनाइएको छ । यसको नियन्त्रण प्रोग्राममार्फत हुने र कार्यान्वयन रोबोटले गर्नेछ ।
शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको फेदिखोला गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत उक्त परियोजनाले स्थानीय तहमै विकसित डिजिटल नवप्रवर्तनको सम्भावना उजागर गरेको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले ‘ज्योया’ लाई ग्रामीण क्षेत्रका विद्यार्थीको सिर्जनात्मक क्षमताको उदाहरणका रूपमा लिनुभएको छ ।
फेदिखोला गाउँपालिकाले छ वर्षअघिदेखि ‘एक विद्यालय, एक आईटी शिक्षक’ कार्यक्रम सञ्चालन गर्दै विद्यालयस्तरमै आईटी ल्याब र डिजिटल शिक्षाको विस्तार गर्दै आएको छ । गाउँपालिकाभित्रका नौ वटा माध्यमिक विद्यालयमा आईटी कक्षा सञ्चालनमा छन् भने एक हजार ६ सय विद्यार्थी आईटी शिक्षामा आबद्ध रहेका छन् ।
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सीमित स्रोत–साधनका बिच पनि आईटी अभियानलाई निरन्तरता दिइएको अध्यक्ष सुवेदीले बताउनुभयो ।