• ६ कात्तिक २०८१, मङ्गलबार

मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा

blog

दाङको घोराही उपमहानगरपालिका–१० स्थित मानव कल्याण समाज (सेवा घर)मा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

दाङ, मङ्सिर १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।

कसैले राजनीतिको माध्यमबाट र कसैले अन्य माध्यमबाट मानव सेवा गरिरहेको भए पनि सडकमा अलपत्र नागरिकलाई उद्धार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको मन्त्री शर्माको धारणा थियो । कुनै पनि नागरिक सडकमा अलपत्र नहोस् भनेर सरकार लागिरहेको उल्लेख गर्नुहुँदै उहाँले जनस्तरबाट सञ्चालित संस्थाहरुबाट मानवीय सेवा कार्यक्रम सञ्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताउनुभयो ।

मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । पछिल्लो समय जन्मदिन, विवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्नुहुँदै उहाँले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताउनुभयो ।

मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको उल्लेख गर्नुहुँदै उहाँले हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवाघरको सेवाको बारेमा समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलले जानकारी गराउनुभएको थियो ।

हुनेबाट सहयोग, नहुनेलाई उपयोग भन्ने नाराका साथ सञ्चालित सेवा घरमा हाल ४२ जना असहाय र बेसहारा नागरिक राखिएको छ । सडकपेटी तथा अन्य स्थानमा बेसहारा जीवन बिताइरहेका नागरिकको उद्धार गरी सेवाघरमा स्याहार र उपचार गर्ने गरिएको छ । समाजले देशभर सात वटा शाखामार्फत चार सय पचास जना बेसहारा नागरिकलाई सहारा दिइरहेको छ ।

यसैबिच मन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास संस्थाहरुको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका– १५ स्थित कस्तुरीनगर टोलवासीसँग शुक्रबार बिहान छलफल गर्दै उहाँले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कन सम्ममा टोल विकास समितिहरू लाग्नुपर्ने कुरामा जोड दिनुभएको हो । 

स्थानीयस्तरको विकास निर्माणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि पनि आफूले पहल गर्दै आएको बताउनुभयो । जुन सुकै विकास निमार्णका लागि सबैको साथ सहयोग आवश्यक रहने भन्दै टोलवासीहरू पनि जागरूक हुनु पर्ने धारणा राख्नुभयो ।

विशेषगरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो ।  निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार विकास निर्माणका कामहरू गरिरहेको बताउँदै आगामी दिनमा थप काम हुने बताउनुभयो ।