• ६ कात्तिक २०८१, मङ्गलबार

सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

घोराही (दाङ), मङ्सिर १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज (शुक्रबार) छलफल गर्नुहुँदै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिनुभयो । 

समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताउनुभयो । जुनसुकै विकास निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहने भन्दै टोलवासी पनि विकास, निर्माणका विषयमा जागरूक हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।

विशेष गरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री शर्माले भन्नुभयो, “यहाँको समग्र विकासका लागि अझै पनि धेरै काम गर्न बाँकी छन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि हरपल छु । नागरिक केन्द्रित काम भइरहेका छन् ।” कार्यक्रममा कस्तुरीनगर टोलवासीले आम नागरिकले विकासको प्रत्याभूत गर्ने गरी काम गर्न आग्रह गरेका थिए । रासस