• ४ जेठ २०८१, शुक्रबार

गरुडा नगरपालिकाद्वारा छठमा व्रतबस्ने विपन्न महिलालाई पूजा सामग्री वितरण

blog

पूजा सामग्री वितरण गर्नुहुँदै गरुडा नगरप्रमुख जयसवाल । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, मङ्सिर १ गते । 
आर्थिक अभावका कारण छठ पर्व मनाउन नसक्ने अति विपन्न परिवारका व्रतालु महिलालाई रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमनीप्रसाद जयसवालले सारी एवम् पूजाका सामग्री वितरण गर्नुभएको छ ।

आर्थिक रूपमा कमजोर महिलाले पनि छठ पर्व मनाउन पाउन् भन्ने उद्देश्यले उहाँले छठको व्रत गर्ने महिलालाई भाइटीकापछि सम्पर्क गरी पूजामा प्रयोग गरिने सामग्री र सारी सेट वितरण गर्नु भएको हो ।

उहाँले पालिकाको ९ वटै वडाका व्रत बस्न तयार विपन्न महिलालाई बाँसबाट निर्मित पूजा सामग्री डाला, सुपली एवम् चोखोनितो लगाउन नयाँ सारी, चोलो र पेटिकोट वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । शुक्रबारसम्म नौ सयभन्दा बढी व्रतालु महिला लाभान्वित भइसकेका छन् भने शनीबारसम्म नगरका सबै वडामा वितरण कार्य सकिने छ ।

निकै कठोर र आस्थाका साथ उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गरी मनाइने छठ पर्वको विशेष महत्त्व रहेकोले पालिकाको सानो सहयोगबाट विपन्न र असहाय व्रतालुलाई ठुलो राहत पुग्ने र खुसीकासाथ पर्व मनाउने नगरप्रमुख जयसवालको विश्वास छ । उहाँकाअनुसार नगरपालिकाको परिषद्बाटै पारित गरिएको उक्त सहयोग ३० लाख रुपियाँ बराबरको हुने छ ।

छठ पर्व मागेर पनि मनाइने चलन छ । तर पालिकाले घरघरै पुगेर व्रतको सामग्री वितरण गर्दा विपन्न महिला निकै खुसी देखिएका छन् । गेडही गुठीकी ६१ वर्षीय महिला जयन्तीदेवीले नगरप्रमुख घरमै आएर पूजा सामाग्री दिनुभएको मा खुसी व्यक्त गर्दै भन्नुभयो, “अघिल्ला वर्षमा मागेर छठ पूजा गरिन्थ्यो । यसपालि नमागी कनै नयाँ लुगा लगाएर पूजा गर्न पाइने भइयो । गरिब दुखीको व्रतबस्ने सपना पुरा हुने भो ।”