बर्दिया, मङ्सिर १ गते । बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय वरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृष्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखी टोल बस्ने १९ वर्षीय दिपेश बुढामगर, सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका–८ गङ्गानगर टोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी छन् ।
गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका वरूणको उपचारका लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियार बरामद गरेको छ ।
घटनामा संलग्न हाल फरार अन्य तीन जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।