• १७ असार २०८१, सोमबार

२० वर्षसम्म बाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर १ गते । वालिङ नगरपालिका –१४ वायटारी देखि वडा १२ को सिर्सेकोट ग्रामीण सडक खुलेको २० वर्ष पुगिसेको छ । सडक खुलेको लामो समयसम्म राम्रोसँग सडक सुधार नहुँदा स्थानीयलाई कठिन यात्रा गर्न बाध्य हुनुपरेको हो । 

स्थानीय समाजसेवी श्याम गुरुङले वायटारीदेखि सिर्सेकोट कोखे जाने बाटो मर्मत नहुँदा स्थानीयलाई निकै सास्ती भोग्नुपरेको बताउनुभयो । २०६० मा ट्रयाक खोल्ने काम भए तापनि बाटोमा सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको गुरुङको भनाइ छ । 

सामान्य रुपमा सडकको स्तरोन्नति भए पनि वर्षातको समयमा बाढी पहिरो तथा हिलाम्य र हिउँदको समयमा धु्लाम्य भएर कठिन यात्रा गर्नुपरेको छ । करिब १५ किलोमिटर कच्ची रहेको बाटोको सुधारका लागि कुनै पनि प्रयास नगरिएकाले कोखे, काउले, सिर्सेकोट तथा धार्मिक एवं पर्यटकीय क्षेत्र अकलादेवी जाने यात्रुलाई निकै कठिन भएको गुरुङले बताउनुभयो । 

साँघुरो, उकालो तथा घुम्तीको समेत व्यवस्थापन नगरिएको यस सडकमा दैनिक ३० देखि ४० सम्म साना ठूला सवारी साधनहरु चल्ने गर्छन् । बाटोको मर्मत सुधार गर्न सकेको खण्डमा स्थानीयका लागि सामग्री खरिदमा सस्तो पर्ने तथा लामो दूरीका लागि पनि पटक पटक सवारी साधनको प्रयोग गर्न नपर्ने बताउनुभयो । 

खाद्य सामग्री किनमेलमा समस्या भएको र महँगाे पर्ने गरेको बताउँदै गुरुङले यात्रा गर्दा झुण्डिएर तथा छतमा बसेर गर्नुपरेको बताउनुभयो ।