• ६ जेठ २०८१, आइतबार

छठ पर्वमा बजार भाउ दोब्बर

blog

राजविराजमा छठ लक्षित बजार । तस्विर : ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी), मङ्सिर १ गते । हिन्दु धर्ममा आस्थाको महापर्व मानिने छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । एकहप्ता अगावैदेखि उकालो चढेको बजार भाउले छठ महँगिँदै गएको उपभोक्ताहरू बताउँछन् ।

पोहोरपरारको छठपर्वकोबेला सय-दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले बढेर चार सयदेखि हजार रुपियाँ पुगेको छ । छठ पूजाको लागि अनिवार्य मानिने केरा पहिले घरी वा दर्जनमा किन्ने गर्थे तर यो वर्ष किलोमा किनेको र एक किलोमा आठ-दस वटा आउने केराको ८०÷ सय रुपियाँसम्म फरकफरक बजार भाउ लिने गरेको आधा शताब्दीदेखि छठ गर्दै आइरहनुभएकी खड्क–४ की सावित्री देवी बताउनुहुन्छ । सावित्रीको लागि यसपालिको छठपर्वको यो तितो मात्रै नभई अनौठो रूपमा महँगाई बढेको अनुभूति दिलायो । 

पारिवारिक कारणले विगत चार वर्षदेखि छोरा बुहारीसँग काठमाडौँमै छठ पर्व मनाउने बाध्यता भएकोले तिहार र भाइटिका मान्न हरेक वर्ष राजविराज घर आउँदा काठमाडौँमा छठको सामग्री झन् महँगो हुने भएकोले राजविराज मार्दै छठमा चाहिने माटोको हात्तीदेखि केरा र बाँसबाट बनाइएका ढक्की, कोनियासम्म राजविराजबाटै प्याक गरेर काठमाडौँ लाग्ने गरेको उहाँ बताउनुहुन्छ । 

विगतका वर्षहरूमा पाँच हजारमा आउने त्यति नै सामानमा भने उचाक्ली महँगाइले यस वर्ष झण्डै १० ÷१२ हजार रुपियाँ खर्चिनु परेको राजविराज – ७ कि समुन्द्र देवीले सुनाउनुभयो । 

एकातिर वर्षदिनदेखि आर्थिक अभाव झेल्दै गर्दा चाडपर्वले बजार भाउ झनै महँगिँदै गएको व्यवसायीदेखि सर्वसाधारणसम्म लाइन अनुभूति गराएको छ । पछिल्लो समयमा चाडपर्वको बदलिँदो स्वरूपका कारण पर्वमा चाहिने आवश्यक सामग्री बाहेक हुनेखानेहरूले विलासिताका वस्तुहरू महँगा लुगा, गरगहनाहरू चाडपर्वकै बेला किन्ने र देखासिकी गरी प्रतिस्पर्धा, तडकभडकपूर्ण विकृतिले निम्न तथा मध्यमवर्गीय नागरिकको लागि चाडपर्वलाई झन् बढी महँगाइमा परिणत गर्दै गएको वास्तविकता रहेको रुपनि –१ का हरेराम यादव भन्नुहुन्छ ।

मौलिक परम्परा बोकेको छठपर्वमा हाम्रो पालामा त आफ्नो घर र छिमेकको बगैँचा र बारीमा भएकै सामानहरू पैँचो साटो गरेर पुग्थ्यो । न्यून मात्रामा बजारबाट किन्नुपर्ने सामग्रीमा हामी नाईको बराबर पैसा खर्च हुन्थ्यो तर अहिलेको छठ पर्व देखासिकी र केही आयातित देखावटी परम्पराले छठ झन् महँगो बन्दै गएको तिरहुत गाउँपालिकाको ९७ वर्षीय हुकुमलाल चौधरीले बताउनुभयो ।

दसैँ तिहारमा खाने र लाउने मात्रै भएको हुनेले र नहुनेले आफ्नो तजबिजले खर्च गर्छन् तर चारदिनसम्म चल्ने छठ पर्वमा महिनादिन अगावैदेखि जोरजाम गर्नुपर्ने र खर्च गर्नुपर्ने बाध्यता हुने गरेको वोदेवसाईन – ५ मानराजाकी अनिता साह भनुहुन्छ, “सबै सामग्री छठी मैयालाई घाटमा चढाउने अर्थात् पर्व प्रयोजनकै लागि हुने भएकोले कुनै कटौती नगरी चाहिने आवश्यक सामग्री खरिद नगरे पर्व मनाउनै सकस हुन्छ ।”

ढुवानी खर्चदेखि सबै सामग्रीहरू महँगो हुँदै गएको छ र हाम्रो रोजगार सँधैको उस्तै रहेर हाम्रो गुजारा धान्न कठिनाइ भइरहेको कारण पनि हामीले बनाएका माटाका भाँडाहरूको समेत पहिलाभन्दा बढी मूल्यमा बेच्नु परेको तिलाठी कोईलाडी गाउँपालिका – ५ रामकुमारी पण्डितले भन्नुभयो ।

चाडपर्व लागेसँगै सामान्यतया बजारको भाउ आकासिने स्वाभाविक हो र यतिबेला सर्वसाधारण उपभोक्ता ठगिनु हुँदैन । जसको लागि सरोकारवालाले बाक्लो बजार अनुगमन गर्नुपर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताको हितको निम्ति बजार अनुगमन सधैँ गर्नुपर्ने हो । चाडपर्वको बेला झन् विशेष रूपमा गर्नुपर्छ । पछिल्ला दिनहरूमा प्रत्येक स्थानीय तहमा रहेका प्रमुख प्रशासकीय अधिकृतहरू अनुगमन समितिको संयोजक स्वयम् भएकोले बजार अनुगमन तथा उपभोक्ता स्वास्थ्य संरक्षणको लागि स्थानीय सरकार अधिकार सम्पन्न छन् ।  हामी सहकार्य र समन्वय गर्न तयार छौँ ।”