• १२ मंसिर २०८१, बुधबार

उर्लाबारीमा आगलागीमा परी घाइते ६ जनाको अवस्था गम्भीर

blog

कीर्तिपुर अस्पताल ।

काठमाडौं, मङ्सिर १ गते । मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुग्नुभएका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले यस्तो जानकारी गराउनुभएको हो ।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका डाक्टर निजिना ताम्राकारले बताउनु भयो । उहाँले जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने जानकारी दिनुभयो । डा. ताम्राकारले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ । यसको वेटर म्यानेजमेन्ट गर्नेछौँ । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’’

घाइतेको अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको बताउनु भयो । उहाँले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने जानकारी गराउनु भयो । डा. ताम्राकारले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘पाँच/छ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरूलाई निको पार्नेछौँ ।’’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।