• १२ साउन २०८१, शनिबार

कृषि मजदुरको विकल्पमा 'रिपर'को प्रयोग

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १ गते । झापामा धान काट्ने कृषि मजदुरहरूको अभाव भएपछि किसानहरूले ‘रिपर’ को प्रयोग गर्न थालेका छन् । परम्परागत कृषि प्रणाली अवलम्बन गरेका किसानका लागि नयाँ नयाँ यान्त्रिक प्रविधि आएपनि यो महँगो हुने गरेको उहाँहरू बताउनुहुन्छ ।

ट्याक्टरको पछाडि रिपर राखेर किसानहरूले धान काट्न सुरु गरेका छन् । कमल गाउँपालिकाका एक किसान रेवती निरौलाका अनुसार एक घण्टा रिपर लगाएको २४ रुपियाँसम्म तिर्नुपर्छ । ग्रामीण क्षेत्रमा पावर टिलरमा जोडेर र ट्याक्टरमा जोडेर नै रिपरको प्रयोग हुँदै आएको छ ।

पछिल्लो समयमा रिपरको प्रयोगबाट धान काट्ने क्रम बढेको कमल गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक महेन्द्र बोहोराले बताउनुभयो । "कृषि मजदुरभन्दा सस्तो नै पर्न आउँछ", उहाँले भन्नुभयो । ट्याक्टर तथा रिपर भाडामा एकरूपता नभएको गुनासो रहेको समेत उहाँको भनाइ छ ।

"दश जनाले दिनभर गर्ने काम रिपरको माध्यमबाट १ घण्टामा नै सकिने रहेछ", कमल ६ का किसान दिनेश सङ्ग्रौलाले भन्नुभयो । "कृषि मजदुर नपाएको अवस्थामा यसको प्रयोग त झनै प्रभावकारी लाग्यो", उहाँले भन्नुभयो । पछिल्लो समयमा सबैले यसको प्रयोग गर्ने गरेको पाएको उहाँ बताउनुहुन्छ ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमीला न्यौपाने तिवारीका अनुसार किसानले जोत्न तथा धान काट्दा रिपर प्रयोग गर्दा ट्याक्टरहरूले बढी मूल्य लिने गरेको र किसानलाई महँगो परेको विषयमा छलफल गरेर मूल्य निर्धारण गरिने बताउनुभयो । "यस विषयमा गाउँपालिकाको पनि ध्यान जान्छ", उहाँले भन्नुभयो ।