• २२ असार २०८१, शनिबार

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन

blog

जिल्लामा पहिलो पटक इन्टर लिङ्क इट्टाबाट निर्माण भएको विद्यालय भवन । तस्विर : राजन रावत

राजन रावत 

हुम्ला, मङ्सिर १ गते । सिमकोट गाउँपालिका-७ को चौगानफयामा कर्णाली माध्यमिक विद्यालयकाे भूकम्प प्रतिरोधी भवन सञ्चालनमा आएकाे छ । विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भए पनि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो । 

विद्यालयका प्रधानाध्यापक रामराज शाहीले नयाँ र भूकम्प प्रतिरोधी भवन निर्माण भएर सञ्चालनमा आएको बताउनुभयो । उहाँले नयाँ पाँचकोठे भवन निर्माण भई सञ्चालनमा आएसँगै यसअघि पुराना, पानी चुहिने र जीर्ण भवनमा शिक्षक विद्यार्थीहरुलाई पठनपाठनका बेला आउने समस्याबाट मुक्ति मिलेको बताउनुभयो । उहाँले भवन निक्कै गुणस्तरीय, कोठा पनि ठुला भएको र कोठाको भुइँ सिमेन्ट ढलान गरिएको कारण कक्षाकोठा धुलोबाट मुक्त भएको बताउनुभयो । 

भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने आधार विकास नेपालका हुम्ला जिल्लामा शिक्षा क्षेत्र हेर्ने अधिकृत कन्जोक लामाले काठमाडौंको निर्माण नेपालले माटोको परीक्षण गर्दा राम्रो देखिएपछि इन्टर लिङ्क इँट्टा निर्माणस्थलमै तयार पारी भवन निर्माण गरिएको बताउनुभयो । भवन निर्माणका लागि कोरोनाको कारण तीन वर्ष लागेको बताउनुहुँदै उहाँले भूकम्प प्रतिरोधी र जिल्लामै पहिलो नमुना भवन निर्माण भएर सञ्चालनमा आएको बताउनुभयो । 

आधार विकासले भूकम्प प्रतिरोधी भवन मात्र नभएर पाँच वटै कोठाका लागि प्रति कोठा दश सेट फर्निचरसमेत निर्माण गरेर कोठामा जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । यसले गर्दा विद्यालयलाई यसअघि भवन बन्ने तर फर्निचर अन्यत्र खोज्नुपर्ने बाध्यताबाट  छुटकारा मिलेको छ । भवनको कुल लागत साठी लाख खर्च भएको उहाँले बताउनुभयो ।