• १५ असार २०८१, शनिबार

धान काट्न भ्याइनभ्याइ

blog

बाबुराम कार्की

वराहक्षेत्र, मङ्सिर १ गते । अन्नको भण्डार मानिने तराईका जिल्लामा धान काट्न किसानलाई भ्याइनभ्याइ हुन थालेको छ । दसैँ सकिएसँगै तराईका खेतीयोग्य जमिनमा धान पहेँलै भएर पाक्न सुरु भएपछि किसानलाई धान काट्ने चटारो छ । तिहार नजिकिँदै गर्दा अगौटे धान भित्र्याउन किसानलाई थप चटारो परेको हो । 

अगौटे धान भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । असोज अन्तिमबाटै अगौटे धान काट्न सुरु गरेका किसानले दसैँ सकिएलगत्तै काट्ने, दाउनी गर्ने र भित्र्याउने काम सुरु भएको छ । यस वर्ष पानीले साथ दिएकाले तराईका जिल्लामा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि हुने रामधुनी नगरपालिका–४ का किसान गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै रोप्न पाइयो । मल पनि समयमै पाइएकाले सबैतिर धान राम्रो छ । पानीले पनि साथ दियो ।”

खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन नदिने हो कि भन्ने पीर किसानलाई छ । मौसमले साथ दिइरहेकाले सुनसरीका किसान पनि पाकेको धान काटेर थे्रसर गर्न थालेका छन् । “कात्तिक पहिलो साता दसैँमा व्यस्त भएका किसानलाई तिहारअगावै धान काटिसक्ने र तिहारलगत्तै उठाउने चटारो छ,” वराहक्षेत्र–९ का किसान भीम गुरुङले भन्नुभयो । अहिले सुनसरीका खेतका फाँटमा धान काट्ने, सुकाउने र थे्रसर गर्ने काममा किसान व्यस्त देखिन थालेका छन् । तराईमा धानबाली भित्र्याउने क्रम मङ्सिरसम्म रहन्छ । 

किसानलाई धान थन्क्याउने बेलामा पानी परेर धान बिग्रिन्छ कि भन्ने चिन्ता छ । वराहक्षेत्र नगरपालिका–१०, बकुलाचापका ५८ वर्षीय राम खड्काले पानी परेर धान बिग्रिने डरले १० कट्ठामा लगाएको कान्छी मन्सुली धान काटिसक्नुभएको छ । उहाँले भन्नुभयो, “फलेको धान पानीले बिग्रेला कि भनेर काटेर पाँजा सुकाएको छु । धान पाक्ने बेला फेद कुहिने रोगले अगौटे धानमा अलि समस्या बनायो ।” प्रकाशपुरका किसान सीताराम चन्द्रवंशीले धानबारीको बिच बिचमा बोटहरू पहेँलिने र बोट ओइलाएर मर्ने समस्या आएको बताउनुभयो । 

किसानले तिहारअघि नै धान काटिसके ढुक्कले तिहार मनाउन पाउने भएकाले पनि धान काट्ने चटारो परेको छ । तराईका जिल्लामा किसानले राधाबाह्र, स्वर्णा सब, सावा सब, कान्छी मन्सुली, रञ्जित, राम धान, जिरामसिना, बहुगुनी–२, हर्दिनाथ–६, बिबी–११, कालो बासमती, लल्का बासमतीलगायतका धान किसानले लगाउँदै आएका छन् । 

सुनसरी जिल्लामा पनि धेरै स्थानमा अगौटे धान काट्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा यस वर्ष ५३ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । कोशी प्रदेशमै तीन लाख ४० हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।