• २१ जेठ २०८१, सोमबार

विश्वकप क्रिकेट सेमिफाइनल : दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको चुनौती

blog

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्नुहुँदै दक्षिण अफ्रिकाका डेबिड मिलर । तस्बिरः क्रिकइन्फो

काठमाडौं, कात्तिक ३० गते। एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको चुनौती दिएको छ। 

बिहीबार भारतको इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई मध्यम स्तरको लक्ष्य दिएको हो। दुई बल बाँकी हुँदा १० विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो। 

दक्षिण अफ्रिकाका लागि डेबिड मिलरले शतकीय पारी खेल्नुभयो। उहाँले ११६ बलमा ५ छक्का र ८ चौकाको मद्दतमा १०१ रन जोड्नुभयो। सुरुमै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ्सलाई मिलरले सम्हाल्नुभएको थियो।  

अस्ट्रेलियाका बलरले दक्षिण अफ्रिकाका सुरुवाती ब्याट्सम्यानलाई सस्तोमै समेटेपछि सेमिफाइनलमा अफ्रिकाले मध्यमस्तरको स्कोर बनाएको हो। 

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले समान तीन/तीन विकेट लिनुभयो भने जोश हेजलवुड र टेभिस हेडले समान दुईदुई विकेट हात पार्नुभयो। 

अब केही बेरमा अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्नेछ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछन्। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। 

विश्वकप क्रिकेटको फाइनल खेल आइतबार हुँदैछ।