• २० वैशाख २०८१, बिहिबार

टिपताला नाका खुलाउने प्रयास जारी

blog

नेपाल र तिब्बतका स्थानीय पदाधिकारीबीच टिपताला भञ्ज्याङमा भएको अनौपचारिक छलफल । तस्विर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ३० गते । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ । 

टिपताला भञ्ज्याङमा दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल भएको हो । नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिपताला नाका खुलाउनेबारे छलफल भएको छ । 

तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ शहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी हुनुभएको थियो । 

फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मङ्गलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङबीर हाङ्गाम सहभागी हुनुहुन्थ्यो ।

दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, दुई पक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिपतालादेखि ओलाङ्चुङगोलासम्म सडक कालोपत्रेका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गर्नुभएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्वाले जानकारी दिनुभयो । 

कोरोना महामारीपछि बन्द भएको टिपताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदैआएको सीमा व्यापार ठप्प भएको छ । नाका बन्द कायम रहँदा फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोला, याङ्मा, वडा ६ लेलेपको फले र घुन्साका बासिन्दा बढी प्रभावित बनेका छन् । 

तिब्बतको रिउबाट सस्तो मूल्यमा दैनिक उपभोग्यलगायतका आवश्यक सामग्री आयात गरी उपभोग गर्दैआएका यस क्षेत्रका बासिन्दाको खर्च अर्थात व्ययभार बढेको छ । यहीँको सामान खरिद गरेर उपभोग गर्नुपर्दा खरिद मूल्य र ढुवानी खर्च तुलनात्मक रुपमा महङ्गो पर्ने भएकाले यस क्षेत्रका बासिन्दा नाका बन्दको प्रभावमा रहेका छन् । रिउबाट याक र चौंरीलाई बोकाएर झण्डै आधा रकम न्यून ढुवानी खर्चमा सामान आयात गर्दैआएका यहाँका बासिन्दाले सदरमुकाम फुङ्लिङबाट दोब्बर बढी महँगाे अर्थात् ढुवानी रकम मात्रै प्रतिकिलोग्राम ६० देखि १०० रुपियाँसम्म तिरेर उपभोग्य सामग्री उपभोग गर्दैआएका छन् ।

जिल्लाकै दुर्गम भेगअन्तर्गत पर्ने ओलाङ्चुङगोला, याङ्मा, ग्याब्ला, फले र घुन्सामा अझै सडकको पहुँच पुग्न सकेको छैन । हालसम्म सडकका कुनै पनि योजना बनेको नपाइएकाले याङ्मा र घुन्सासम्म तत्काल सडक पहुँच पुग्ने अवस्था छैन भने निर्माणाधीन तमोर करिडोरको कार्यले निरन्तरता पाएमा ओलाङ्चुङगोलालाई केही वर्षभित्रै सडक सञ्जालले जोड्ने सम्भावना छ ।

तिब्बतको सहयोग र स्थानीयवासीले सङ्कलन गरेको रकम खर्चिएर टिपतालादेखि ओलाङ्चुङगोलासम्म भने सडकको ट्रयाक (मार्ग) खोलिएको छ । टिपताला खुला भएमा र हाल ट्रयाक निर्माण भएको सडकको स्तरोन्नति साथै कालोपत्रे गरिएमा यहाँका हिमाली भेगका बासिन्दाको दैनिकी थप सहज बन्ने छ भने दुई देशबीचको व्यापार वृद्धि हुनेछ ।