• १० मंसिर २०८१, सोमबार

टिकटक बन्द गर्ने सरकारी निर्णय विरोधाभासपूर्ण : सञ्चारविज्ञ दाहाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ३० गते । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रूपमा चर्चित र धेरै प्रयोगमा आएको टिकटक एप सरकारले बन्द गर्नु विरोधाभासपूर्ण रहेको सञ्चारविज्ञ सुधांशु दाहालले बताउनुभएको छ । सरकारले टिकटक बन्द गरेसँगै दुईथरी आवाज उठेको उहाँको भनाइ छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको एकथरीले बताउँदै आएका छन् भने अर्कोथरी टिकटकमा देखिएका विकृतिहरूले गर्दा टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै आएका छन् । सत्ता पक्षकै सांसदहरू सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा उत्रिएका छन् । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, त्यस्तै काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको दाबी गर्दै निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । 

यता प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले व्यक्तिको स्वतन्त्रता हनन गर्ने काम गरेको भन्दै टिकटक प्रतिबन्ध तत्काल हटाउनुपर्ने धारणा राखिसकेका छन् । यतिबेला टिकटकलाई नियमन गर्नुपर्ने निकायले सिधै नियन्त्रणमा जानुपर्ने बाध्यता कसरी आयो ? भन्नेबारेमा आम सर्वसाधारणको चासो र चिन्ता रहेको दाहालको भनाइ छ । 

पछिल्लो समय टिकटक लगाएका सामाजिक सञ्जालहरूमा राम्रो विषयवस्तु पस्किनेभन्दा पनि सामाजिक विकृति भित्र्याउने क्रियाकलाप र विषयमा सम्बन्धित भिडियो क्लिपहरू प्रशस्त भेटिँदैआएका थिए । सरकारले टिकटक प्रतिबन्ध लगाउनुपरेको कारण पनि बताइसकेको छ । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्नेखालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक प्रतिबन्ध गरेको स्पष्टीकरण दिनुभएको थियो । 

सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध विरोधाभासपूर्ण रहेको भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले बताउनुभयो । उहाँले नियमनमा जान लागेको सरकार अचानक नियन्त्रणमा जानुले सरकारको निर्णय विरोधाभासपूर्ण रहेको स्पष्ट भएको बताउनुभयो । उहाँले विरोधाभासमा टेकेर गरेको निर्णय सही हुन नसक्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालका प्लेटफर्मलाई यसरी नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने बताउनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रताको बाटो सरकारले बन्द गरेको छ भन्ने सरकारकै निर्णयबाट पुष्टि हुने बताउनुभयो । सञ्चार विज्ञ दाहालले अभिव्यक्ति स्वतन्त्रताको बाटो बन्द हुनु संविधानको मर्मविपरित भएको बताउनुभयो । उहाँले सरकारको टिकटक बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको दाबी गर्नुभयो । 

सामाजिक प्लेटफर्मले समाजको विषयवस्तु नै देखाउने भएकाले समाजमा भएका कामलाई सम्बोधन गर्ने बाटो समाजबाट नै हुने बताउनुभयो । उहाँले सामाजिक प्लेटफर्मलाई बन्द गरेर समाजका विकृति नरोकिने बताउनुभयो । उहाँले तत्कालीन राजा ज्ञानेन्द्रले रेडियो टेलिभिजन बन्द गराएकै शैलीमा जाँदा स्वतन्त्रताको नियतमा शङ्का उठ्यो भन्नुभयो ।

सञ्चार विज्ञ दाहालले चर्चित बन्नका लागि सरकारले गलत निर्णय गरेको दाबी गर्नुभयो । सम्बोधन गर्नुपर्ने निर्णय एकातिर राखेर उपचार अर्कैको गर्नेकुरा सही मान्न नसकिने उहाँको भनाइ छ । उहाँले जनताको आवाज मुखरित गरेर नेतृत्वमा पुगेको वर्गले नै जनताका आवाज बन्द गर्ने कुरा गैरप्रजातान्त्रिक गतिविधि भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल कडा नियमनमा हुनुपर्ने पनि बताउनुभयो ।