• २० वैशाख २०८१, बिहिबार

दुईवटा नगरबस सञ्चालनमा ल्याइँदै

blog

छायाँनाथ रारा नगरपालिकाले समुदायको सहजताका लागि ल्याएका दुईवटा नगर बस । तस्विरः हरिकृष्ण ऐडी

ह्रिकृष्ण ऐडी 

मुगु, कात्तिक ३० गते । मुगुको छायाँनाथ रारा नगरपालिकाले दुईवटा नगरबस सञ्चालनमा ल्याउने भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो चुनावी नारामा प्रतिबद्धता गरेअनुसार नगरपालिकाको कार्यक्रम अन्तर्गत सुविधायुक्त बस सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

बसबाट भएको आम्दानी सबै गरिबी निवारण कार्यक्रममा खर्चिने प्रमुख प्रशासकीय अधिकृत परशुराम शाहीले बताउनुभयो । शाहीले भन्नुभयो, “चालक र सहचालकलाई नगरपालिकाको आर्थिक कार्यविधिले तोकेबमोजिम नगरले सुविधा दिनेछ ।” 

यी बस अबको मङ्सिर महिनाभित्र सञ्चालनमा आउने छायाँनाथ रारा नगरपालिकाका  नगर प्रमुख भामले  बताउनुभयो । भामले नगरभित्रका धेरैजसो वडाहरूमा रोड साँघुरो भएकाले हाललाई एउटा बसले छायाँनाथ रारा नगरपालिकाको रुगा, लुम हुँदै बामसम्मका रुटमा बस चल्नेछ । अर्को गमगढी हुँदै ताल्चा एर्पोट, टोप्ला, पिना, र राराको सल्लेरीसम्म बस चल्नेछ । 

नगरपालिकाको नगर बैठकबाट गमगढीदेखि बामसम्म तीनसय रुपियाँ, तुम ३० रुपियाँ, ताल्चा एक सय ५० रुपियाँ, रारा सल्लेरी दुईसय ५० रुपियाँ, पिमा तीनसय रुपियाँ, बालै एकसय रुपियाँ, कोटिला दुईसय रुपियाँ, त्यसैगरी फुलीसम्म दुईसय रुपियाँ सहुलियत भाडादर कायम गरिएको छ । 

उक्त  निर्णयको सहुलियत भाडादर तोकिएबमोजिम सेवाग्राहीबाट भाडा लिइने छ । सो दरभन्दा बढी भाडा सेवाग्राहीबाट उठाएको जानकारी पाएको खण्डमा प्रचलित कानुनअनुसार सहचालकलाई कार्यवाही हुने नगर प्रमुख भामले बताउनुभयो ।