बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक २९ गते। सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन्।
आज (बुधबार) विहान १० बजेर ५१ मिनेटको शुभ साइतदेखि नै कारागार गेटमा टीका लगाइदिन आउने चेलीबेटीहरुको भिडभाड थियो। झुम्का कारागारले बिहानको शुभ साइतदेखि बेलुका ५ बजेसम्म कैदीबन्दीलाई भाइटीका लगाउन कडा सुरक्षासहित कारागार भित्रै व्यवस्था मिलाइएको थियो।
कैद भुक्तान गरिरहेको दाजुलाई टीका लगाउन पुग्नु भएको वराहक्षेत्र ६ चक्रघट्टीकी मिनादेवी शाहले पनि आफ्नो दाजुको सुस्वास्थ्य, दीर्घायु र असल मार्गतिर लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दै टीका लगाइदिनु भएको छ।
रामधुनी-९ की आरती चौधरी पनि भतिजोलाई भाइ टीका लगाइदिन सानी छोरीसहित पुग्नु भएको थियो। एउटी मात्रै चेली भएकाले खाली निधार नहोस् भनेर छोरी लिएर टीका लगाउन पुग्नु भएको थियो। त्यस्तै इटहरी १६ बाट आउनु भएका सुनिता परियारले पनि आफ्नो माइतीलाई कारागारमै टीका लागाइदिनु भएको छ।
विभिन्न अपराधमा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका आप्mना माइतीलाई चेलीहरुले टाढा टाढाबाट आएर टीका लगाइदिएको झुम्का कारागारले जनाएको छ।
कारागार प्रशासनका अनुसार तीन हजार चेलीहरुले आफ्ना माइतीलाई लाइनमा बसेर टीका लगाइदिएको जनाएको छ। कारागारले टीका लगाउन आउने चेलीलाई नाम दर्ता गराएर कडा सुरक्षाका बिच टीका लगाउने व्यवस्था मिलाइएको थियो। झुम्का कारागारमा १५ सय ७७ जनाले कैदभुक्तान गरिरहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षासहित टीका लगाउन आउनेको मोबाइल फोन गेटबाट भित्र लैजान दिएको थिएन।