• २ माघ २०८१, बुधबार

इन्टरनेट प्रदायकले टिकटक नहटाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

blog

काठमाडौं, कात्तिक २८ गते। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

मंगलबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णय लगत्तै इन्टरनेट प्रदायकलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। 

निर्देशन दिएको २४ घण्टछासम्म पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो। 

प्राधिकरणको सूचनामा भनिएको छ, ‘‘निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकलाई अनुरोध गरिएको छ।’’

सेवा प्रदायकले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुनसक्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ। 

टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले नेपालमा बन्द गर्ने निर्णय गरेको हो। योसँगै नेपालसहित २७ देशमा टिकटक प्रतिबन्ध भएको छ। 


यो पनि पढ्नुहोस

टिकटक प्रतिबन्धको बहस

विकृति रोक्न नेपालसहित २७ राष्ट्रमा टिकटक बन्द

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय