• ३ जेठ २०८२, शनिबार

इन्जिनियरिङकी विद्यार्थी गुरुङ सयपत्री उत्पादनमा रमाउँदै

blog

महिला उद्यमी अरुणा गुरुङले उत्पादन गर्नुभएकाे सयपत्री फूल । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २८ गते । बाँके खजुराकी महिला उद्यमी अरुणा गुरुङ सिभिल इन्जिनियरिङको विद्यार्थी हुनुहुन्छ । गुरुङले नेपालगञ्जको नेशनल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा कोर्स उत्तीर्ण गर्नुभएको छ ।

खजुरा गाउँपालिका –३ की स्थायी बासिन्दा महिला उद्यमी गुरुङले खजुराकै २ नम्बर वडाको के गाउँमा सयपत्री फूलको खेती गर्दै आउनुभएको छ । उक्त ठाउँमा २३ कठ्ठा जग्गामा लिएर विगत तीन बर्षदेखि फूलखेती गर्दैआएको गुरुङले बताउनुभयो । 

गुरुङले सुरुमा इन्जिनियरिङ पेशा मन परेर सिभिल इन्जिनियरिङ विषय लिएर अध्ययन गरेको तर पछि विस्तारै फूलखेतीतर्फ आफ्नो लगाव र आकर्षण बढ्दैगएका कारण व्यावसायिक रुपमै फूलखेती सुरु गरेको बताउनुभयो ।

“म सिभिल इन्जिनियरिङ पढेको विद्यार्थी हुँ, तर पढाइ सकिएपछि इन्जिनियरिङतर्फ भन्दा पनि मलाई फूलखेतीतर्फ आकर्षण बढ्यो र विगत तीन वर्षदेखि सो ठाउँमा २३ कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूल उत्पादन गरी विक्री गर्दै आएकी छु ।” गुरुङले भन्नुभयो, “तिहारको सिजन छ विक्री राम्रै छ, फूल चारदेखि पाँचसय र तयारी माला साइज हेरेर एक सयदेखि एकसय पचास रुपियाँसम्म विक्री भइरहको छ, यो पेशाबाट म अन्यन्त सन्तुष्ट छु र रमाइरहेकी छु ।”

गत सालभन्दा यो साल तिहारमा फूल र मालाको विक्री कम भएको उहाँले बताउनुभयो । विदेशबाट आउने फूल र प्लाष्टिकका मालामा पूर्णरुपमा रोक लगाई स्वदेशमा उत्पादन गरिएका फूल र मालाहरु प्रयोग गर्नका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “पोहोर साल फूल र मालाको विक्री राम्रै थियो, यो बर्ष सायद अन्य उद्यमीले पनि फूलखेती गरी फूल उत्पादन गर्नु भएर हो कि, विदेशबाट ल्याएका फूल र प्लाष्टिकका माला बजारमा व्यापार भएर हो विक्री अलि कम नै छ, तर पनि माग भएअनुरुप फूल टिप्ने र माला बनाउने काममा व्यस्त नै छु ।” 

गुरुङले भन्नुभयो, “स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सम्बन्धित पक्षले विदेशी फूल र प्लाष्टिकका माला पूर्णरुपमा रोक लगाउनु जरुरी छ ।” आफूजस्तो युवालाई सरकारले सहयोग गरेर स्वदेशमै उद्यमी बनाउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो । 

“देशमा केही छैन भनेर सबै युवाशक्ति रोजगारीका लागि देशबाहिर गइरहेका छन्, नेपालमै सानोतिनो लगानीबाट पनि धेरै उद्यम गर्न सकिन्छ, म पनि युवा नै छु तर मैले आफ्नै माटोमा केही गर्नुपर्छ भनेर यो पेशा अपनाएको छु । राम्रै छ, घरमै बसेर दुई पैसा कमाएको छु ।” 

उहाँले भन्नुभयो, “लाज सरम नमानेर जे काम गर्दा पनि हुन्छ, आफ्नै ठाउँमा गर्ने हो, युवाहरुलाई देशबाट पलायन हुनबाट रोक्न सरकारले पनि युवालक्षित विशेष कार्यक्रम ल्याउनुपर्छ र युवाहरुले पनि देशमै केही गर्न सिक्नुपर्छ ।”

महिला उद्यमी गुरुङले फूल, माला मात्रै नभएर फूलका विरुवा पनि उत्पादन गरेर विक्री वितरण गर्दैआएको बताउनुभयो । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा सयपत्री, मखमली, गोदावरीलगायत फूलहरूको प्रयोग हुनेगर्छ । तिहार सुरु भएसँगै बजारमा फूलको माग पनि बढ्नुपर्ने हो तर वार्षिक रूपमा फूल उत्पादनमा बृद्धि हुँदै गइरहेको तर विक्रीमा भने कमी भइरहेको फूल किसानहरूको गुनासो छ ।