इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक २८ गते । पाल्पामा सामूहिक रुपमा गोवर्धन पूजा गरिएको छ । रामपुर नगरपालिका–६, तातोपानीस्थित नगर गौशालामा निर्माण गरिएको गोवर्धन पर्वतमा तिहारको चौथो दिन आज सामूहिक पूजा गरिएको हो ।
गोवर्धन पर्वतसँगै गाई र गोरुलाई पूजा गर्नका लागि विहानैदेखि भक्तजनहरु गौशाला पुगेका थिए । गौशालामा स्थापना गरिएको गोवर्धन पर्वतमा श्रद्धालुभक्तजनले वैदिक विधिपूर्वक पूजा गरी गौशालामा रहेका १७२ बढी गाईलाई सातु तथा रोटी खुवाएका थिए । पछिल्लो समय गाई पाल्ने परम्परा हराउँदै गएकाले गोवर्धन पूजाका लागि श्रद्धालुहरु पूजा गर्न तातोपानी पुगेका थिए ।
मङ्गलबार बिहान ८ः३० बजेबाट पूजा सुरु गरिएको थियो । गौशालालाई धार्मिक पर्यटकीय स्थलको रुपमा अघि बढाउने प्रयास भइरहेको नगर गौशाला समितिका संयोजक हुमनाथ न्यौपाने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय गाईलाई दान गर्न, पूजा गर्न तथा अवलोकनका लागि आउनेहरुको सङ्ख्या बढ्दै गइरहेको जानकारी दिनुभयो । तिहारसँगै गाईलाई सातु खुवाउन र दानका लागि दैनिक सयौंको सङ्ख्यामा गौशाला आउने गरेको उहाँले बताउनुभयो ।
गौमाताको रुपमा रहेको गाईहरुलाई छाडा छाड्ने र बेवास्ता गर्ने क्रम बढ्दै गएपछि नगरपालिकाले गाईको संरक्षणका लागि २०७६ सालमा गौशाला निर्माण गरी सञ्चालनमा ल्याएको थियो । गौशालाले दूध तथा मलका लागि गाई पाल्न इच्छुकहरुलाई निःशुल्क गाई प्रदान गर्ने र फिर्ता गर्दा तीन हजार शुल्क तिरेर ल्याउने व्यवस्था गरेको गौशालाका व्यवस्थापक नीलकण्ठ भण्डारीले जानकारी दिनुभयो ।
गौशालामा हाल १७२ गाई छन् भने केही गाई पाल्न इच्छुकहरुलाई दिइएको छ ।