काठमाडौं, कात्तिक २७ गते । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा स्कुटर चालक ईलाम घर भई हाल काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उहाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्युभएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।
यसैबीच काठमाडौँ महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका–५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । रासस