• ८ जेठ २०८१, मङ्गलबार

विभिन्न कसुरमा १२५ जना पक्राउ

blog

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा ।

राममणि दाहाल
हेटौँडा, कात्तिक २७ गते ।
चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । गत असोजबाट चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हाससम्ममा १८७ वटा कसुर दर्तामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।

तीमध्ये जिल्ला प्रहरी कार्यालय मकवानपुर, काभ्रे र चितवनबाट जुवा कसुरमा २५ जनालाई पक्राउ सात लाख ३४ हजार एक सय रुपियाँ बरामद गरेको छ । 

बागमती प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकको १० वटा जिल्ला कार्यक्षेत्र रहेको प्रदेश प्रहरी कार्यालयमातहतका जिल्लाहरुको ५९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रुको गुनासो तथा सार्वजनिक यात्रुबाहक सवारी साधन जाँचका क्रममा बढी भाडा लिने ५५ वटा सवारी साधनबाट ४३४ यात्रुलाई बढी भाडा लिएको एक लाख छ हजार ७२० रुपियाँ फिर्ता गराइएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय, मकवानपुर, काभ्रे, सिन्धुली र नुवाकोटबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ओसार पसार गरेको ११ हजार ५५० केजी चिनी र एक लाख १८ हजार ९२० रुपियाँ बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।

यो वर्षको चाड पर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेयता प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाहरु मकवानपुर, सिन्धुली र चितवन जिल्लाबाट पटका, आतिशवाजी तथा विष्फोटक पदार्थ नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले बताउनुभयो ।