राममणि दाहाल
हेटौँडा, कात्तिक २७ गते । आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडाका महेन थापामगरको मृत्यु भएको छ ।
आइतबार राति १०ः५० बजेको समयमा हेटाैंडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको गरेको ना६५प ७०५५ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भइ हेटौँडा ११ थानाभर्याङ राप्ती पुलको पारिपट्टीको मुखमा दुर्घटना हुँदा मोटरसाइकल चालक वर्ष २२ का मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक मगर, बिचमा सवार हेटौँडा २ सङ्गमचोककी बेबिसा खड्की र पछाडि सवार हेटौँडा ५ गर्दोहीकी विनीता थापा तीनै जना घाइते भई उपचारका लागि हेटौँडा अस्पताल लगेकोमा उपचारको क्रममा आइतबार राति ११ः०५ बजे चालक मगरलाई डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
घाइते वर्ष १८ की खड्कीलाई थप उपचारका लागि आइतबार राति नयाँ मेडिकल कलेज भरतपुर पठाइएको र थापा सोमबार बिहान उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
यस्तै, अटो दुर्घटनामा घाइते भएको अटो चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ खैरहनी लखनटोलका लक्ष्मण स्यान्ताङ गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
गत शुक्रबार राति ११ः५० बजे ३३ वर्षीय लक्ष्मण हेटौँडा बजारबाट आफ्नै घर गई ना १ ह ३५४४ न.को अटो ब्याक गरी पार्किङ गर्न खोज्दा अटो अचानक करेसाबारीमा करिब ५०/६० फिट तल खस्दा घाइते भई उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर ल्याएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । अटो चालक लक्ष्मणको आइतबार राति ९ः१५ बजे उपचारको क्रममा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसबिच सोमबार बिहान २ः३० बजेको समयमा मकवानपुरको थाहा नगरपालिका ४ दामन भ्युटावरस्थित त्रिभुवन राजपथ सडक खण्डमा हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९२७ नं. को (अण्डा लोड) आईचर ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा सडक छेउमा रहेको बिजुलीको पोल, कुखुराको खोर, पानी ट्याङ्कीमा सामान्य क्षति पुगेको तर मानावीय क्षति भएको छैन ।