• २० असार २०८२, शुक्रबार

विधेयक पारित गर्न मन्त्री नै गम्भीर देखिएन: अध्यक्ष तिमिल्सिना

blog

‘विधेयकहरू कति गुणस्तरीय आयो, आएनन् फरक–फरक कुरा हुन सक्छ विधेयकहरूको । विधेयक ड्राफ्ट गर्ने ठाउँबाट नै ध्यान दिने कुरा हो पहिलो त । जुन मन्त्रालय अन्तर्गत त्यो विधेयक तयार हुन्छ ।

काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरूमा गम्भीरता नदेखिएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले गम्भीरता नदेखाएका बताउनुभएको हो । उहाँले मन्त्रीहरूले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनुभयो ।

त्यस्तै संसद् र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको भन्दै उहाँले यसबाट मन्त्रीहरूमा विधेयकप्रति कुनै गम्भीरता नभएको स्पष्ट हुने बताउनुभयो । उहाँले संसद्मा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरू अन्य काममा हिँड्ने गरेका बताउनु भयो । मन्त्रीहरूले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘मन्त्री हुन तीव्र इच्छा हुने । पार्टी फोडेर पनि मन्त्री खाने देखियो । तर त्यो के को लागि त ? मन्त्री हुनको लागि मात्रै कि देश, जनता, राष्ट्रको लागि केही चिज नयाँपन दिनको लागि ? त्यस कारण अब सबै राजनीतिककर्मीहरुले र मुख्यतः संसद् सदस्यहरूले मन्त्री हुन चाहँदा खेरी या मन्त्री बन्दा आम नागरिकले अब नयाँ कुरा आउँछ भनेर अपेक्षा गर्ने र आश्वस्त हुन सक्ने बनाउनु पर्‍यो नि । त्यो आश्वस्त बनाउने दिशातिर गएको देखिँदैन । झिना मसिना कुरामा प्रचार धेरै गर्ने तर गुणात्मक परिवर्तन ल्याउने गरी काम भएको छैन । विधेयक त मन्त्रालय मातहतका सबै सञ्चालन गर्न चाहिने चिज हो नि । जुन वजनका साथ त्यहाँ जानेहरूले ध्यान दिनुपर्ने हो त्यो धेरै दिएको पाइएको छैन । अरू काममा व्यस्त हुनुभएको छ । हाउसमा बोलाउँदा खेरी अथवा विधेयक त्यहाँ छलफल हुँदै छ मन्त्री नभएर, मन्त्रीले समय नदिने छ । पहिलो प्राथमिकता विधेयकलाई दिनुपर्‍यो नि । आफ्नो विधेयक कहाँ गयो ? अपवाद बाहेक कुनै पनि मन्त्रीले मेरो विधेयक कहाँ पुग्यो ? के हुँदै छ ? छिटो गर्नुपर्‍यो भनेको रेकर्ड छैन । हामीले बोलाएर तपाईँको विधेयक यहाँ आएको छ, यसो गर्नुस् भनिरहनुपर्ने । त्यो विषयप्रतिको गम्भीरता देखिएन । किन देखिएन त उहाँहरूलाई सोध्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भिर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विधेयकहरू कति गुणस्तरीय आयो, आएनन् फरक–फरक कुरा हुन सक्छ विधेयकहरूको । विधेयक ड्राफ्ट गर्ने ठाउँबाट नै ध्यान दिने कुरा हो पहिलो त । जुन मन्त्रालय अन्तर्गत त्यो विधेयक तयार हुन्छ । त्यहाँ त्यसको गाम्भिर्यता, त्यसको दूरगामी प्रभाव, त्यसले राष्ट्र र जनताको लागि हुने हित, फाइदा के हो ? सुशासन र न्यायको निम्ति कस्तो प्रत्याभूति गर्छ ? यस्ता कुरामा गम्भीरतापूर्वक त्यहाँ नै विचार गरेर पहिला त्यहाँबाट आउनुपर्ने । त्यहाँ कति ध्यान दिइयो ? आत्म केन्द्रित हुने कि समग्र राष्ट्र केन्द्रित हुने भन्ने कुराहरू हुन्छ । आत्म केन्द्रित हुन थालेपछि आफू वरिपरि र आफूलाई हुने गर्न थालियो भने स्वाभाविक रूपमा गुणस्तरीय हुँदैन । त्यस कारण त्यो विधेयकको क्षेत्राधिकार र त्यसले समष्टिमा कसलाई लक्षित गर्नुपर्छ र त्यसको हितको लागि के गर्नुपर्छ भन्ने विशाल सोचबाट आएपछि धेरै गुणस्तरीय त्यहाँबाट हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउने कुरामा सांसदहरूले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सांसदहरूले विधेयकको गहन अध्ययन गर्नुपर्ने बताउनुभयो । त्यसै गरी राजनीतिक दलहरूले पनि आफ्ना सांसदहरूलाई विधेयकहरू निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै मतदाताहरूले पनि आफूले निर्वाचित गरेको सांसदलाई भूगोलमा भन्दा पनि विधायन निर्माणको काममा केन्द्रित हुन दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सांसदको हिसाबले मैले के कुरामा जानकारी लिनुपर्छ । कति मेहनत गर्नुपर्छ । सबै कुरा आफैँले जानेर, बुझेर आएको हुन्छ भन्ने होइन । तर कुनै विधेयक आयो भने त्यसमा गहन अध्ययन गरेर, सम्बन्धित विज्ञहरू सँग पनि बसेर त्यसमा छलफल चलाउने कतिले गर्नुहुन्छ होला ? दलहरूले पनि आफ्ना सदस्यहरूलाई, मेरो पार्टीका सांसदहरूले अरूका भन्दा गुणस्तरीयता प्रदर्शन गरुन् विधेयकको बारेमा छलफल गर्ने क्रममा या अरू विषयमा पनि भनेर उनीहरूलाई प्रशिक्षित गर्ने । दलहरूले कति लगाएका होलान् ती कुरा ? अलि अध्ययन गर्नुपर्‍यो भनेको भए हुन्थ्यो होला । हामीले भोट माग्ने, प्रचार गर्ने कुरादेखि नै विधायकहरूलाई मत दिनेहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ उहाँहरूको पनि लेभल माथि आउनुपर्‍यो नि ।’

उहाँले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद्, सांसदहरू र मतदाताहरू समेतको भूमिका भएको भन्दै सबैले आ–आफ्नो भूमिका राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।