राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक २६ गते । रुकुमपश्चिममा भूकम्प पीडितहरूको राहत वितरणमा आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बेलुका राहत सामग्रीमा चित्त नबुझेको भन्दै सानीभेरी गाउँपालिका २ को परिगाउँ टोलमा भूकम्प प्रभावितहरूको राहत सामग्रीमा आगो लगाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले राहत सामग्री आगजनी गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको बताउनुभयो । सोही वडाका गोपाल बुढा र खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो । आगजनीबाट १५ थान कम्बल जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उनीहरूले आफूले पाएका कम्बलमा समेत आगो लगाएका छन् ।
वडा कार्यालयबाट परिगाउँ टोलमा पठाइएका राहत सामग्रीमा आगो लगाइएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष मानबहादुर पुनका अनुसार भूकम्प पीडितहरूका लागि वडामा प्राप्त राहत सामग्रीहरू सम्बन्धित टोलहरूमा पठाएर वितरण गर्ने क्रममा वडाको परिगाउँ टोलमा आगजनी भएको हो ।
वडा अध्यक्ष पुनका अनुसार योजनाबद्ध तरिकाले राहत सामग्रीमा आगजनी गरेको पाइन्छ । टोलमा पठाइएका सामग्रीहरू जम्मा गरेर पेट्रोल छर्केर आगो लगाइएको उहाँको भनाइ छ । यस्तो हर्कतले अन्य भूकम्प प्रभावितहरूलाई अन्याय भएको उहाँले बताउनुभयो ।
भूकम्पबाट प्रभावित परिवारलाई राहत वितरण गर्ने क्रममा परिगाउँ टोलमा गएका एक चरणका कम्बलमा आगो लगाइएको हो । राहत वितरणमा चित्त नबुझेको बहानामा उनीहरूले लगाएको बताइन्छ ।
आगजनी गर्ने कार्यमा संलग्न दुवै जना भूकम्प प्रभावित नै हुन् । वडा कार्यालयका अनुसार उहाँहरूले यस अघि त्रिपालसहितको राहत सामग्री पाइसक्नुभएको छ ।
राहत सामग्री कत्ति पनि नपाएकाहरूलाई दिने र थप सामग्री आएमा आवश्यकता हेरेर अन्य प्रभावित परिवारलाई दिने गरेर राहत वितरण गरिरहेको बेला दुई जनाले रिसाएर राहत सामग्रीमा आगो लगाएको जानकारी वडा कार्यालयले दिएको छ ।