हुम्ला, कात्तिक २६ गते। हिमाली जिल्ला हुम्लामा राति नौ बजेपछि तिहारमा देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै देउसी भैलो खेल्ने समय तोकेको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जिल्ला सुरक्षा निकायको निर्णय अनुसार देउसी भैलोको समय सीमा राति नौ बजेसम्म मात्र तोकिएको बताउनुभयो।
तिहारको बेला अवाञ्छित घटना घट्न नदिन र विवाद ननिम्त्याउनका लागि राति अबेरसम्म देउसी भैलो खेल्न बन्देज लगाइएको उहाँले बताउनुभयो।
सुरक्षा निकायको अनौपचारिक बैठकले देउसी भैलो खेल्न पाउन समय तोकेको उहाँले बताउनुभयो। तोकिएको समय भन्दा पछि कोही कसैले देउसी भैलो खेलेमा प्रहरीले बन्द गर्न बाध्य हुने उहाँले बताउनुभयो।
तिहारको समयमा सम्भावित हुनसक्ने घटनालाई मध्य नजर गर्दै सिमकोट बजारमा सुरक्षाका लागि प्रहरी बाक्लो रूपमा परिचालन गरिएको छ। बजार गस्ती गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले गर्नेछन् भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।