सुर्खेत, कात्तिक २६ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पपछिको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल गर्नुभएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भूकम्पपछिको उद्धार र राहतमा प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरूले पुर्याएको सहयोगका लागि सङ्घीय सरकारकारतर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले भूकम्प पीडितलाई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र भारत, चीनलगायतका देशका साथै अन्तर्राष्ट्रिय दातृ निकायहरू, गैरआवासीय नेपाली, स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई तीनै तहका सरकार र भूकम्प पीडित जनताकातर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको हो।
उपप्रधानमन्त्री खड्काले भूकम्पका घाइतेको उद्धार र राहतको एक चरणको काम सकिएको उल्लेख गर्नुहुँदै अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
उपप्रधानमन्त्री खड्काले भूकम्पमा खटिएका सुरक्षा निकायका अधिकृत तथा जवानलाई खटिएको अवधिको गणना गरेर खाजा खर्च उपलब्ध गराउने निर्णय सङ्घीय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी गराउनुभयो।
उहाँले भूकम्प पीडितका लागि अस्थायी आवास र योसँग सम्बन्धित अन्य सहयोगका लागि आवश्यक निर्णय सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिनुभयो।
‘‘प्रधानमन्त्रीले सोमबारका लागि मन्त्रिपरिषद् बैठक आव्हान गर्नुभएको छ, त्यसमा सहभागी हुन म काठमाडौँ जाँदैछु,’’ बैठकमा उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘प्रदेश सरकार, सभामुख र सुरक्षा अङ्गका प्रदेश प्रमुखहरूबाट आएका सुझावलाईसमेत ध्यानमा राखेर थप निर्णयहरू गर्दैछौं।’’
छलफलमा सहभागीहरूले भूकम्पपछिको उद्धार र राहतमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले पुर्याएको योगदान र भूमिकाको प्रशंसा गर्दै पीडितहरूलाई तत्कालका लागि अस्थायी आवास निर्माणमा पनि यस्तै सक्रियताको अपेक्षा राखे।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उपप्रधानमन्त्रीको नेतृत्वमा एकै दिनमा घाइतेको उद्धार हुनुका साथै एक साताको अवधिमा पीडितहरूसम्म राहत सामाग्री पुर्याउन सकिएको बताउनुभयो।
पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्प लगत्तै भएको उद्धार र राहतका कामले कर्णाली विपत्तमा पनि तत्काल काम गर्न सक्षम छ भन्ने देखाएको बताउनुभयो। उहाँले कर्णालीबाट राज्यको महत्त्वपूर्ण स्थानमा रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको सक्रियता सबैका लागि प्रेरणा बनेको बताउनुभयो।
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको नेतृत्वले प्रदेश सरकारलाई काम गर्न सहज भएको बताउनुभयो।
आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले १० दिनसम्म कर्णालीमा रहेर पुर्याएको योगदान भूकम्प प्रभावित क्षेत्रका जनताका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले तत्काल घाइतेको उद्धार र राहतका कामले जनताले सङ्घीयताको प्रत्यक्ष अनुभूति गर्न पाएको बताउनुभयो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले भूकम्पका कारण प्रहरीका ४० वटा युनिटमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले क्षति पुगेका संरचनाको निर्माणका साथै गाउँमा रहेका प्रहरी युनिटलाई सवारी साधनको व्यवस्था गरिदिन माग गर्नुभयो।
उत्तर पश्चिम पृतना हेडक्वाटरका प्रमुख कृष्णदेव भट्टले भूकम्प पीडितहरूको उद्धार र राहत प्रभावकारी भएको बताउँदै अव अस्थायी आवास निवासका लागि समुदायलाई सक्रिय बनाइनुपर्ने बताउनुभयो।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले जाजरकोटमा गएको भूकम्पबाट घाइते भएकाहरूको उद्धार र राहतमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जस्तोसुकै विपत्तिमा पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल सक्षम रहेको बताउनुभयो। उहाँले भूकम्पका घाइते नागरिकहरूको उपचारका लागि सरकारले प्रदेश अस्पताललाई तोकेकोमा धन्यवाद दिनुभयो।
बैठकमा सशस्त्र प्रहरी बलका डिआइजी प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभागका कर्णाली प्रदेश प्रमुख माधनप्रसाद तिमिल्सेनालगायतको सहभागिता थियो।