• १२ साउन २०८१, शनिबार

माटोको पाला बनाउन भ्याइनभ्याइ

blog

काठमाडौं, कात्तिक २५ गते । तिहार सुरु भएसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो । उनीहरूले यो वर्षको तिहारमा माटामा पाला लगायतका भाँडाहरू मागअनुसार बनाउन नसकेको बताए । अन्य समयमा भन्दा तिहारको समयमा धेरै माग हुने गरेको व्यवसायीहरू बताउँछन् ।

भक्तपुर नगरपालिका–४ का गणेशकुमार प्रजापतिले बजारमा प्लास्टिकका दियोहरू आएकाले माटोका पालाहरूको माग कम भएको बताउनु भयो । व्यवसायी प्रजापतिले माटोको पाला बनाउनसके बजारमा माग धेरै रहेको जानकारी दिनुभयो । उहाँले प्लास्टिकका दियोहरू बजारमा आएकाले माटोका पाला व्यवसायमा समस्या भने आएको भनाइ व्यक्त गर्नुभयो ।

उहाँले माटो अभावका कारण पाला बनाउन समस्या भएको बताउनुभयो । उहाँले विगतमा माटो किन्नु नपर्ने भए पनि अहिले माटो समेत किन्नुपर्ने अवस्था रहेको बताउनुभयो । माटो किन्नुपर्ने भएकाले पाला लगायतका माटोका भाँडा बनाउने पेसा सङ्कटमा परेको प्रजापतिको भनाइ छ ।

उहाँले पाला मात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाँडाहरू पोल्न स्थानको अभाव रहेको दुःखेसो गर्नुभयो । उहाँले माटोको पाला ठुलो भारहरू बनाउन नजान्नेहरूले १२ महिना बनाउने तर धेरैले दसैँ सकिने बित्तिकै बनाउन सुरु गर्ने गरेको बताउनुभयो ।

भक्तपुरका प्रजापति समुदायले बनाएको माटोको पाला उपत्यका तथा बाहिर निकै परिचित छ । मौलिक परिचयका कारण उपत्यका बाहिर सिन्धुपाल्चोक, पोखरा, काभ्रे, धरान लगायत विभिन्न जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् । माटोको पाला लक्ष्मी पूजाको दिन धेरै प्रयोग हुने गर्छ ।